काठमाडौं, माघ ७ । नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
सोमबार राष्ट्रियसभाको बैठक शुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले समय दिएपछि कांग्रेस सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाइन् । उनले
सरकारलाई सँधै सहयोग गरेको प्रतिपक्षी दललाई सरकारले नै चिढ्याउन खोजेको धारणा राखिन् । उनले प्रश्न गरिन्, ‘यो सरकाले गर्न खोजेको के हो ?’
प्रतिपक्ष सडकमा जाओस्, संसदलाई अवरुद्ध गरोस् भन्ने चाहेको हो भने त्यसका लागि प्रतिपक्ष तयार रहेको चेतावनी पनि उनले दिइन् ।
नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गरेको योगदानलाई सरकारले उपेक्षा गरेको आरोप पनि लगाइन् ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको प्रष्टिकरण दिएका थिए ।
लगत्तै, कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले कांग्रेस नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नगरेको भन्दै प्रतिप्रश्न गरे । उनले ती दुई अस्पताल पनि अन्य नौ अस्पताल सरह रहनेगरी सरकारले निर्णय नगरेसम्म आफूहरुको विरोध जारी रहने बताए ।
प्रतिपक्षी दलका सांसद आफ्नो आसनमा नबसेपछि अध्यक्ष तिमल्सिनाले बैठक आधा घण्टामा लागि स्थगित गरे ।









प्रतिक्रिया दिनुहोस्