Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


खोटाङमा १० हजार बढी मतदाता थपिए


0
Shares

स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर गत साउन १ गते देखि भदौ ३ गते सम्मको अवधिमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रममा दश हजार ३७ जना मतदाता थपिएका हुन् ।

जसमध्ये ४ हजार ७९७ जना महिला र ५ हजार २४० जना पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

मताधिकार उपयोग गर्ने उमेर पुगेका तथा यसअघि मतदाता नामावली दर्ता गराउन छुट भएका नागरिकलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले दुई नगरपालिका र आठ गाउँपालिकामा गत साउन १ गते देखि भदौको ३ गते सम्म फोटो सहितको मतदाता नामावली दर्ताको काम थालेको थियो ।

यस्तै, जिल्ला निर्वाचन कार्यालयमा आएर ४ हजार ३२ र निर्वाचन कार्यालय भन्दा बाहिर बाट ६ हजार ५ जनाले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।

सदरमुकाम दिक्तेल बाहेकका २ स्थानीय तहमा जिल्ला प्रशासनबाट स्पेसल नागरिकता टोली समेत गएका कारण नागरिकतासँगै फोटो सहितको नामावलीमा नाम लेखाउनेको संख्या बढेको निर्वाचन अधिकारी खत्रीले बताए ।

फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन नागरिकता लिन सदरमुकाम आउन समस्या हुने भएकोले स्थानीय तहमै नागरिकता वितरण गर्न इलाका प्रशासन कार्यालय खोटाङबजारमा कामु शाखा अधिकृत बाबुराम खत्री र इलाका प्रशासन कार्यालय ऐसेलुखर्कमा कामु शाखा अधिकृत छबिलाल आचार्यको नेतृत्वमा साउनको १६ गते जिल्ला प्रशासन कार्यालय बाट स्पेसल टोली परिचालन गरेको थियो ।

मतदाता नामावली दर्ता तथा संकलन गर्ने, २०७३ साल फागुन ९ गतेअघि र पछि १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम दर्ता नभएका नेपालीको मताधिकार सुनिश्चित गर्ने, त्रुटी सच्याउने, ठाउँ सार्ने, दोहोरो नाम हटाउने लगायतका प्रयोजनका लागि निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता तथा अद्यावधिकका काम थालेको थियो ।

यससँगै जिल्लाको मतदाता संख्या १ लाख २५ हजार ६८१ नाघेको छ । यसअघि जिल्लाको कूल मतदाता संख्या १ लाख १५ हजार ६४४ थियो ।

गाउँमै नागरिकता र फोटो सहितको नामावली नाम लेखाउन पाएपछि स्थानीय हषिर्त भएका छन् ।

जन्तेढुंङ्गा गाउँपालिका प्रमुख शंखरबहादुर राईले भने, ‘सर्वसाधारणले घरै नजिक सरकारी सेवा पाएकामा खुसी छौं ।’ २०६८ सालको जनगणना अनुसार खोटाङमा २ लाख ६ हजार जनसंख्या रहेको छ ।