Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


आर्थिक बृद्धि ६ दशमलब ९ प्रतिशत, व्यापार घाटा ९ खर्ब माथि


0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत बर्षको आर्थिक स्थितिमा मुद्रास्फीति साढें ४ प्रतिशतमा सिमित रहेको जनाइएको हो ।

अघिल्लो वर्ष सो मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६१/६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो ।

उक्त ४.५ प्रतिशतको उपभोक्ता मुद्रास्फीति दर आर्थिक वर्ष २०७३/७४ को ७.५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ ।

अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्ष मा उपभोक्ता मुद्रास्फीतिमा कमी आएकोे राष्ट्र बैंकले जनाएको छ ।

२०७४ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो ।

केन्द्रीय तथ्याङ्क विभागको अनुमान अनुसार आर्थिक वर्ष २०७३/७४मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (उत्पादकको मूल्यमा) अघिल्लो वर्षको ०.४ प्रतिशतको तुलनामा ७.५ प्रतिशत रहेको छ ।

त्यसैगरी, आधारभूत मूल्यमा यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर अघिल्लो वर्षको ०.०१ प्रतिशतको तुलनामा ६.९ प्रतिशत रहेको अनुमान छ ।

अनुकूल मौसमी वर्षा, उर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा सामन्यीकरण भएकोले गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको राष्ट्र बैंकको भनाई छ ।

उक्त ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०५०/५१ देखिको उच्चत्तम वृद्धिदर हो ।

कृषि क्षेत्रको उत्पादन ५.३ प्रतिशत र गैर-कृषि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहेकोले उक्त ऐतिहासिक उच्च वृद्धिदर हासिल भएको जनाइएको छ ।

धानको उत्पादन २१.७ प्रतिशतले वृद्धि भएकोले कृषि क्षेत्रमा उक्त वृद्धिदर सम्भव भएको हो ।

समीक्षा वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत रहयो । अघिल्लो वर्ष औद्योगिक क्षेत्रको उत्पादन ६.३ प्रतिशतले घटेको थियो ।

यस्तै यो बर्ष कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु. ७३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो ।

तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१/७२ को रु. ८५ अर्ब ३२ करोडको स्तरभन्दा न्यून नै छ । समीक्षा वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर रु. ९९० अर्ब ११ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । समीक्षा वर्ष कुल वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढी रु. ९१७ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २ प्रतिशतले बढेकोे थियो ।