
हालसम्म पूर्वाञ्चलमा स्क्रब टाइफस र स्वाईन फ्लुका कारण तीन जनाको मृत्यु भएको छ । यी रोगले महामारीकै रुप लिन सक्ने भन्दै स्वास्थ्यकर्मीले बेलैमा सचेत रहन सुझाव दिएका छन् ।
केही बर्ष अघिबाट नेपालमा देखा परेको ‘स्क्रब टाइफस’ नामक रोगका कारण धनकुटामा यो बर्ष एक वालिकाको मृत्यु भएको छ ।
त्यस्तै स्वाईन फ्लुले झापामा गत हप्ता दुइ ब्यक्तिको मृत्यु भएको छ । जेठ महिना यता पूर्बमा अन्य १८ ब्यक्तिमा ‘स्क्रब टाइफस’ को संक्रमण देखा परेको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
बिशेष गरी १५ बर्ष भन्दा मुनिका बालबालिकामा देखा पर्ने यो रोग मुसासहित संक्रमित सुल्सुले, उपियाँ तथा सुक्ष्म किराको टोकाइ, जुठो र दिशापिसावबाट सर्ने रोग हो ।
धेरै रोगसँग यो रोगको लक्षण मिले पनि सुरुमा ज्वरो आउने, हातखुट्टा दुख्ने, आलस्यता बढ्ने र शरीरमा डावर देखिने तथा बिस्तारै मृगौला, फोक्सो मुटुमा असर पछि श्वास प्रश्वासमा समस्या भई बिरामीको मृत्यु हुने गर्दछ ।
गर्मी तथा बर्खाको समयमा रोग सार्ने किरा बढी सक्रिय हुने भएकाले अन्य समयमा भन्दा यो समयमा यसको प्रकोप बढि देखिने भएकाले बिशेष सतर्कता अपनाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख मदन कुमार उपाध्याय बताउँछन् ।
यता यहि समयमा स्वाईन फ्लु रोगका किटाणु बढि सक्रिय हुने भएकाले लामो समयसम्म उच्च ज्वरो आउने, घाँटी र टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, वान्ता हुने, थकान महशुस हुनेलगायतका लक्षण देखिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधि सेवन तथा आराम गर्न चिकित्सकहरुले सुझाएका छन् ।
यस्तो रोगको लक्षण देखिए भीडभाडमा नजान, ब्यक्तिगत सरसफाइ र उमालेको पानी र प्रसस्त मात्रामा झोल कुरा खानु पर्ने जनाईएको छ ।
एचवान एनवान भाइरस नामक संक्रमित बंगुरलाई टोकेको लामखुट्टेको माध्यमबाट मान्छेमा यो रोग सार्ने गर्दछ ।
यी दुबै रोगलाई प्रकोपको रुपमा फैलिन नदिन पूर्वका १६ वटै जिल्लाहरुमा औषधि, डाक्टर र स्वास्थ्यकर्मीहरु सहितको र्यापिड सेस्पोन्स टीम तयारी अवस्थामा राखिएको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यालयका प्रमुख बिष्णुबहादुर बस्नेतले जानकारी दिए ।
१९३० को दशकमा जापानबाट देखा परेको स्क्रब टाइफस मेक्सीकोवाट देखा परेको स्वाईन फ्लु रोग बिकसित देशमा हराउँदै गएपनि नेपाललगायतका अबिकसित देशमा भने पटक पटक देखिने गरेको छ ।
प्रबिधि, रोग सम्बन्धि चेतनाको अभाब, अनुसन्धानको कमि तथा फोहोर ब्यबस्थापन अभावका कारण यी रोगको प्रकोप बढी देखिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्