Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारबाही


0
Shares

ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत् साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ ।

मिटर नपाएका कारण ग्राहकले विद्युत् बाल्नकै लागि हुकिङ गर्ने गरेको भन्ने चर्को गुनासो आएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ग्राहकले माग गर्नेबित्तिकै मिटर उपलब्ध गराउन र उपलब्ध हुन नसके चित्तबुझ्दो कारणसहित प्राधिकरणलाई जानकारी गराउन तथा त्यसको सूचना मन्त्रालयलाईसमेत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ग्राहकले मिटर पाए/नपाएको जानकारी लिन मन्त्रालयले इन्जिनियर आकाश शाहको संयोजकत्वमा एक अनुगमन समितिसमेत बनाएको छ ।

मन्त्रालयको पछिल्लो निर्देशनअनुसार साधारण मिटर सात दिनभित्र, थ्री फेज मिटर १५ दिनभित्र र उद्योगमा जडान हुने ‘टीओडी मिटर’ ३० दिनभित्र ग्राहकलाई उपलब्ध गराउनैपर्नेछ ।

सो अवधिभित्र उपलब्ध नगराइए तथा चिक्तबुझ्दो कारण पेस नगरे सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाहीको दायरामा ल्याइनेछ ।

प्राधिकरणकाअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मिटर माग हुनेमा कुलेश्वर वितरण केन्द्र, बालाजु वितरण केन्द्र, महराजगन्ज वितरण केन्द्र र बानेश्वर वितरण केन्द्र रहेका छन् ।

यस्तै बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाहीजस्ता जिल्लामा पनि बढी मात्रामा मिटरको माग हुने गरेको छ ।

प्राधिकरणको क्षेत्रीय कार्यालयले मिटर परीक्षण नभएको भन्दै समयमा नै वितरण केन्द्रलाई उपलब्ध नगराउने र उपभोक्तालाई हुकिङ गर्न मद्दत गर्ने गरेको गुनासो बढी आएपछि मन्त्रालयले कडाइका साथ निर्देशन दिएको ऊर्जामन्त्री शाहीको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनैपनि वितरण केन्द्रमा मिटर अभाव हुन नदिइएको र माग आउनेबित्तिकै उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउँछन् ।

कुनै ग्राहकले मिटर पाइन भनेर खबरमात्रै गर्‍यो भने सम्बन्धित वितरण केन्द्रका कर्मचारी कारबाहीको दायरामा आउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणको जिन्सी व्यवस्था महाशाखाका प्रमुख नुतनदेव भट्टराईकाअनुसार साधारण मिटर दुई लाखथान मौज्दात रहेको छ ।

उनकाअनुसार विराटनगर क्षेत्रीय कार्यालयमा २८ हजार ५००, जनकपुरमा २८ हजार ५००, हेटौंडामा १५ हजार, बुटवलमा १५ हजार, पोखरामा १५ हजार, नेपालगन्जमा २० हजार, अत्तरिया क्षेत्रीय कार्यालयमा १५ हजारथान मिटर उपलब्ध छन् ।

यस्तै, काठमाडौंका लागिमात्रै २३ हजार मिटर उपलब्ध गराइएको छ । यस्तै, केन्द्रीय कार्यालय मातहत ४० हजार मिटर मौज्दात छ ।

प्राधिकरणकाअनुसार थ्री फेज मिटर १३ हजार ५०० र ‘टीओडी मिटर’ तीन हजार ३०० मौज्दात छ ।

बालाजु वितरण केन्द्रका प्रमुख किरणराज तिमल्सेनाले दैनिक १० ओटासम्म मिटरको माग हुने गरेको जानकारी दिए ।

ग्राहकले माग गर्नेबित्तिकै कागजात पुगेका ग्राहकलाई तत्काल नै मिटर दिने गरिएको र कुनै गुनासो नरहेको बताए ।

मन्त्रालयले मिटर उपलब्ध गराउन प्रभावकारी कदम चाले पनि प्राधिकरणका कर्मचारीले दुःख दिएको र घुस मागेको भन्ने गुनासो पनि आउने गरेको इन्जिनियर शाहले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको हेलो सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत मिटर नपाएको र कर्मचारीले घुस मागेको भन्दै दैनिक सरदर तीनओटा उजुरी पर्ने गरेका छन् ।

ग्राहकको उजुरीलाई लिएर सम्बन्धित कर्मचारीलाई कडा कारबाही नहुँदा समस्या जहाँको तहीँ रहनेछ ।

उर्जा मन्त्रालयले नै मिटर नदिए सम्बन्धित कर्मचारी कारबाहीको भागिदार हुने भन्दै कडा निर्देशन दिएपछि मिटर वितरणमा सुधार आउने विश्वास लिइएको छ ।

चौबिसै घन्टा कर्मचारी राख्न निर्देशन
ऊर्जामन्त्री शाहीले प्राधिकरणका सबै कार्यालयमा चौबिसै घन्टा कर्मचारी रहने व्यवस्था गर्नसमेत निर्देशन दिएका छन् ।

नो लाइटमा फोन नउठेको, ग्राहकले फोन गर्दा राम्रोसँग सम्बोधन गरेको नपाइएसमेत सम्बन्धित कर्मचारी कारबाहीको भागिदार बन्नेछन् ।