बिराज रोस्यारा (इमेज)
कैलाली, माघ ५ । ‘तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
धनगढी रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्यो ।
जितसँगै पुलिस पहिलोपटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो ।
पुलिस विजेता बन्नेक्रममा खेलको ६३औं मिनेटमा अभिषेक रिजालले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित हुँदै अभिषेकले १० हजार रुपैयाँ पाए ।
उपाधिसँगै पुलिसले मोफसलको प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक २१ लाख एक रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको थ्रीस्टारले १० लाखमा चित्त बुझायो ।
यी हुन् उत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसकै रवि पासवान घोषित भए । उनले एउटा यामाहा मोटरसाइकल प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुघन चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकै अजित भण्डारी, सर्वाधिक गोलकर्ता पुलिसकै तीर्थ राना, उत्कृष्ट प्रशिक्षक पुलिसकै अनन्तराज थापा घोषित भए । उत्कृष्ट मिडफिल्डर भने थ्रीस्टारका कप्तान विक्रम लामा बन्न सफल भए ।
यस्तै, उदीयमान खेलाडी आयोजक टिम सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमटा बने ।
विधागतरुपमा उत्कृष्ट भएकाहरुले पुरस्कारस्वरुप जनही १५ हजार रुपैयाँ पाए ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले विगत तीन वर्षदेखि धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको छ ।
शनिबार सम्पन्न तेस्रो संस्करणमा १२ टिमले सहभागिता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्