Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


गोर्खाल्याण्ड आन्दोलनका कारण खाद्यान्नको भाउ आकाशियो


0
Shares

साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् ।

आमहड्ताल शुरु भएपछि चामल, नुन, दाल, चिनी, चाउचाउ, चिउरा, तेललगायत सबैजसो खाद्यान्नको मूल्य बढेको स्थानीय उपभोक्ता बताउँछन् ।

ढुवानीको लगानी र भारतीय व्यापारीले बढी मूल्य तिरेर सामान लैजान थालेपछि व्यापारीले मूल्य बढाउँदा स्थानीय उपभोक्ता मारमा परेका छन् ।

पशुपतिनगरका मिलन क्षेत्रीका अनुसार पश्चिम बंगालको आमहडताल शुरु हुनुअघि २५ किलो चामलको मूल्य रु दुई हजार ६०० रहेकोमा अहिले त्यो मूल्य बढेर रु तीन हजारसम्म पुगेको छ ।

त्यस्तैगरी, दाल, चिनी, नुनलगायतका खाद्यान्नमा समेत १० प्रतिशतसम्म मूल्य बढेको उनले बताए ।

पशुपतिनगरलगायत सीमावर्ती बजारमा खुला सीमाको फाइदा उठाएर व्यापारीले खाद्यान्न ल्याउँदा मूल्य पनि कम थियो ।

अहिले सबैजसो सामग्री झापाको काँकडभिट्टा नाकाबाट ल्याउनुपर्दा मूल्य बढेको व्यापारी बताउँछन् ।

सबैजसो खाद्यान्न भारतबाटै आउने भएकाले मूल्य बढेको व्यापारी बताउँछन् ।

दार्जिलिङमा भइरहेको आमहडतालका कारण सीमावर्ती बजार पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङसहितका सीमावर्ती बजार यतिबेला ठप्प छन् ।

भारतीय ग्राहक नआउँदा पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै चल्छन् ।

तर, भारतको बन्दले उताका पसल ठप्प हुँदा यहाँका खाद्यान्न पसलमा भने भारतीय र स्थानीय उपभोक्ताको भीड बढेको छ ।

दार्जिलिङमा भएको आन्दोलनका कारण पशुपतिनगरमा व्यापार समेत घटेको छ ।

पशुपतिनगर उद्योग वाणिज्य संघका अनुसार दैनिक रु ४० लाखसम्मको कारोबार हुने पशुपतिनगर बजारमा अहिलेको कारोबार शून्य जस्तै छ ।

खाद्यान्नबाहेक अन्य वस्तुको कारोबार ठप्प रहेको संघका अध्यक्ष प्रमोद राईले बताए ।

“भारतमा ७४ दिनदेखि बन्द छ, पशुपतिनगर, मानेभञ्ज्याङलगायतका बजार ठप्प छन्” उनले भने “भारतीय पर्यटकको भरमा सञ्चालित यी बजार सुनसान बनेका छन् ।”
रासस