Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


केराखेतीमा नयाँ प्रविधि, लोभिए युवा पनि (भिडियो रिपोर्ट)


0
Shares

कृषि क्षेत्रमा अनुदान, प्राविधिक सहयोगलगायतमा राज्यले पछिल्ला दिनमा राम्रै लगानी गरेको छ । त्यसमध्ये खर्च गरिएको एउटा क्षेत्र केरा पनि हो । तरपनि अहिले नेपालमा उत्पादन हुने केराले तीन महिना पनि स्वदेशी बजार धान्दैन ।

केरा कृषक आफ्नै मिहिनेतबाट नयाँ–नयाँ प्रविधि र राम्रो प्रतिफल दिने केराको बीउ खोजिरहेका छन् । राज्यसंयन्त्र सहयोगी नबन्दा दुःख खेप्नु, व्यहोर्नुपरेको गुनासो कृषकको छ ।

कैलाली, टीकापुर केरा उत्पादनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । सयौं बिघा जमिनमा केराखेती गरिएको यहाँ राज्यले भने खासै सहयोग नगरेको उनीहरु बताउँछन् ।

३० वर्षदेखि टीकापुरमा केराखेती गरिरहेका कृषक रामबहादुर कुँवर पछिल्ला नयाँ प्रविधिबाट खेती गर्न सके ५० प्रतिशत बढी नाफा हुने बताउँछन् ।

आफ्नै लगानीमा नयाँ तथ्य पत्ता लगाइ नयाँ केराको बीउ ल्याएर थोपा सिँचाइमार्फत् केराखेती गरिरहेका कुँवर केराको बीउ ल्याउँदा पनि भन्सारमा घुस खुवाउनुपरेको गुनासो गर्छन् ।

थोपा सिँचाइ प्रविधि र जी नाइन केरालाई राज्यले स्वीकृति दिए केरा खेतीतर्फ कृषकको थप आकर्षण बढ्ने उनको विश्वास छ ।

युवा कृषक खेमबहादुर विकले पनि अहिले नयाँ प्रविधिबाट केराखेती गरेका छन् । परम्परागतभन्दा थोपा सिँचाइ प्रणालीबाट केराखेती गर्दा झन्डै ७० प्रतिशत लागत कम हुने भनाइ उनको छ ।

यो प्रविधिबाट तराईमामात्र होइन, पहाडमा पनि केराखेती गर्न सकिन्छ । केराको टिस्यू कल्चरलाई एउटा बिरुवादेखि अर्कोको दूरी ४ फिट कायम गरी मेसिनबाटै केराखेती गर्न सकिन्छ । यो प्रविधिमा केराको हरेक बोटमा पाइपमार्फत् फर्टिकल्चर र पानी हालिन्छ ।

कृषि आयाम संयोजक कुलप्रसाद तिवारी नेपालमा भित्रिएको एक वर्ष पनि नभएको यस प्रविधिबाट खेती गर्दा ५० प्रतिशतभन्दा बढी लागत कम हुने बताउँछन् ।

राज्यले व्यावसायिकरुपमा केराखेती गर्न सघाउने नीति बनाउँदै लगेको उनको भनाइ छ ।

भिडियो हेर्नुहोस्