Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह


0
Shares

उनले भने “आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।”

नेपाल निर्माण व्यवसायी महासंघको १९ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने जानकारी निर्माण व्यवसायीलाई गराए ।

उनले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे ।

प्रम देउवाले भने “विकास खर्च सन्तोषजनक छैन, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ, यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहन्छु ।”

निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उनले बताए ।

सो अवसरमा प्रम देउवाले गैरआवासीय संघका अध्यक्ष शेष घले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद र अन्तरराष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष दातु माथ्यु टिलाई सम्मान गरेका थिए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि आवश्यक कानून निर्वाचन आयोगलाई समयमै दिने जानकारी दिए ।

महासंघका अध्यक्ष शरदकुमार गौतमले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई संशोधन गर्न माग गरे । हाल देशमा करिब १२ हजार निर्माण व्यवसायी रहेका छन् ।

कार्यक्रममा सिँचाइमन्त्री सञ्जयकुमार गौतम, वाणिज्यमन्त्री मीन विश्वकर्मा, भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, महासंघका पूर्व अध्यक्ष विक्रम पाण्डे तथा नेकपा (एमाले) भौतिक पूर्वाधार विकास विभागका प्रमुख डा विजय पौडेलले गुणस्तरीय पूर्वाधार समयभित्र सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। रासस