काठमाडौं, माघ ३ । काठमाडौंमा विद्युतीय सवारी–साधनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालू आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ ।
पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी–साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेसनको अभावमा समस्या पर्दै आएको छ ।
विभागले सरोकार भएका सबै पक्षको सहयोगमा उपयुक्त स्थानमा त्यस्तो स्टेसन राख्ने भएको छ ।
पहिलो चरणमा साझा यातायाताको परिसरमा एक स्टेसन तत्काल जडान गरिनेछ ।
सबै प्रकारका सवारी–साधनलाई चार्ज गर्नमिल्ने चार्जिङ स्टेसन सुन्दर यातायातले उपलब्ध गराएको छ ।
सुन्दर यातायातले उपलब्ध गराएको सोही स्टेसनबाट विद्युतीय सवारी–साधनको प्रवद्र्धन गरिनेछ ।
सुन्दर यातायातले प्रवर्द्धन गरेको उक्त मेसिनले आधुनिक तथा साना–ठूला सबै प्रकारका सवारीलाई उपयुक्त हुने साझा यातायात सन्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए ।
उक्त मेसिन आधुनिक, छरितो र नेपालको विद्युत् भोल्टेजसँग मिल्दो रहेको र सबै प्रकारका विद्युतीय सवारी–साधनलाई उपयुक्त रहेको बताइन्छ ।
विभागका महानिर्देशक झलकराम अधिकारीले विद्युतीय सवारी–साधनको प्रवर्द्धनका लागि चार्जिङ स्टेसन जडानको प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए ।
उनले उपयुक्त स्थानको खोजी एवं पहिचान गरी चालू आवभित्रै पाँच ठाउँमा विद्युतीय चार्जिङ स्टेसन जडान गरिने जानकारी दिए ।
चार्जिङ स्टेसनसम्बन्धी आधारभूत अवधारणापत्र व्यवसायी र सरोकार पक्षसँग छलफल गरी शीघ्र तयार पारिने महानिर्देशक अधिकारीको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले यसअघि नै प्रवर्द्धनात्मकरूपमा प्राधिकरणको केन्द्रीय कार्यालय र एनइए इन्जिनियरिङ कम्पनीको कार्यालय थापाथलीमा जडान गरेको छ ।
तर, हालसम्म कानुनी आधार तयार हुन सकेको छैन ।
चार्जिङ स्टेसनमा सवारी चार्ज गर्दा के–कति शुल्क तिर्ने ? कस्तो स्थानमा उक्त प्रणाली जडान गर्ने ? त्यसको सुरक्षा तथा सन्चालनको ढाँचा के–कस्तो हुने ? भन्नेबारेमा आवश्यक निर्णय भएको छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक तयारीकाक्रममा नै रहेको जनाएको छ ।
प्राधिकरणले कानुनी संरचना तयार गर्न मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाइँले सरकारले कानुनी आधार तयार पारिदिए निजी क्षेत्रले विद्युतीय सवारी–साधनको चार्जिङ स्टेसन एकाध महिनाभित्रै जडान गर्नसकिने बताए ।
प्राधिकरणको प्रसारण प्रणाली देशभर नै पुगेकाले स्टेसन बनाउन कुनै समस्या नभएको इपानको भनाइ छ । रासस










प्रतिक्रिया दिनुहोस्