विनाशकारी भूकम्पले समेत उक्त गाउँमा कुनै क्षति पुर्याएको छैन । जसले गर्दा यहाँ अहिले पनि माटाका घरहरु बाक्लै देख्न सकिन्छ ।
घर-आगनमा रातो माटाले पोतिएका छन् भने सबै घरमा ढुंगाको छाना रहेका छन् । गुरुङ्ग समुदायको मात्र बसोबास रहेकाले यस गाउँमा पुग्नेहरुले गुरुङ्ग जातीको संस्कृति अवलोकन गर्न सक्नेछन् ।
कोरिखा गाउँ समुन्द्र सतहबाट ९६० मि.उचाईमा छ । यहाँ होमस्टे खोलिएको एक बर्ष भईसके पनि यो गाउँ अझै ओझेलमै रहेको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च, नेपाल (भिटोफ) पोखराका निवर्तमान अध्यक्ष तारानाथ पहारीको अगुवाईमा दुई महिना अघि पर्यटन पत्रकार अमृत भादगाउँले सहितको टोलीले यस होमस्टेको सम्भावना अध्ययन गरेको थियो ।
त्यही क्रमलाई निरन्तरता दिंदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल भिटोफ केन्द्र काठमाडौंका कोषाध्यक्ष गगनराज न्यौपाने नेतृत्वको टोली त्यहाँ पुगेर अवलोकन र परिचयात्मक भ्रमण गरेको छ ।
भ्रमण टोलीमा भिटोफ नेपालका पूर्व अध्यक्ष चित्रबहादुर गुरुङ्ग, भिटोफका पूर्व महासचिव तथा नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष राजकुमार थापा, पत्रकार, पर्यटन व्यवसायीहरु र प्राध्यापकको समेत सहभागिता थियो ।
टोली कोरिखा गाउँ पुग्दा झमक्कै साँझ परिसकेको थियो । सिमसिम पानीसंगै गाउँ कुहिरो भित्र लुकेको थियो ।

अन्यत्र जस्तै यहाँ पनि टीका र माला लगाएर स्वागत गर्ने चलन रहेछ । हामी पानीमा रुझ्दै सूर्योदय युवा क्लवका बहिनीहरूले फूलमालाले स्वागत गरे ।
रात झमक्कै परेको र पानी परिरहेकाले त्यो दिन देखाइने भनेको साँस्कृतिक कार्यक्रम अर्को दिनलाई सारिएको रहेछ । त्यो दिन स्थानीय परिकारमै हामी रमाउन पुग्यौं ।
बिहान छलफल कार्यक्रममा कोरिखा सामुदायिक होमस्टेका सचिव लिलबहादुर गुरुङले होमस्टेको बारेमा परिचय गराए ।
उनले स्थानीय जीवनशैली, परिकार र शान्त वातावरण भएकोले कोरिखा गाउँ चिनाउन होमस्टे सञ्चालनमा ल्याएको बताए ।
गाउँका मानिसहरु शहरतिर बसाई सर्ने क्रम बढेकोले होमस्टेबाट पर्यटकहरुको चहलपहलले गाउँ फर्किने आशासमेत उनले राखे ।
उनले मन्तव्य राख्दै थिए, फेरी कुहिरोले पुरै गाउँ छोपिहाल्यो । त्यत्तिकैमा पानी समेत र्दकन थाल्यो । तर पनि स्थानीयभाई बहीनीहरुले पानीमै रुझेरै भएपनि नाँच देखाईहाले ।
भिटोफ नेपालका पूर्व महासचिव राजकुमार थापाले पाहुना आउँदा गाउँलेले गर्नुपर्ने कुराहरु सिकाएका थिए ।

होमस्टेको आवश्यक तालिमका लागि पोखरा भिटोफसँग सहकार्य गर्न पनि उनले सुझाउँदै आफ्नो तवरबाट गाउँको प्रचार प्रसारमा सकेको सहयोग गर्ने बचनदिए ।
त्यसैगरी थापाले १० सेट बेडसिट र सिरानीको खोल सहयोग स्वरुप भिटोफको तर्फबाट होमस्टेलाई प्रदान गरे ।
कार्यक्रममा भिटोफ नेपालका पूर्वअध्यक्ष चित्रबहादुर गुरूङले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, पोखराद्वारा प्रकाशित ‘होमस्टे दर्पण २०७४’ पुस्तिका कोरिखा सामुदायिक होमस्टेका अध्यक्ष साबित्री गुरुङलाई हस्तान्तरण गरे ।
भिटोफ नेपालले पर्यटकीय संभावना बोकेका तर ओझेलमा परेका गाउँहरुको प्रवद्र्धन गर्न सघाउँदै आइरहेको छ ।

कोरिखा गाउँ पुग्न बन्दिपुरदेखि ४ किलोमिटर, जिपमा करिब २० मिनेट र हिँडेर एक घण्टा लाग्छ ।
पृथ्बी राजमार्गको आँधिखोला र गोरे चौताराबाट दक्षिण उकालो एक घण्टा हिंडेमा पनि पुगिन्छ । कुल ३२ घरधुरी रहेको गाउँमा अहिले पाँचवटा घरमा होमस्टे सुविधा छ ।
गुरूङ संस्कृति, चुड्का, झ्याउरे, घाटु नाँचहरू, पुराना शैलीका घर अवलोकन, अर्गानिक स्थानीय परिकार, सूर्योदय र उत्तरमा अन्नपूर्ण हिमालका श्रृंखलाहरु, मनास्लु, माछापु्च्छ्रे, हिमालचुली लगायतका सेताम्मे हिमालहरुको दृश्य देख्न पाईन्छ ।
प्रायः अधिकांश युवा पीढी विदेशिएका भएपनि यस गाउँका संस्कृति जोगाउन युवा पीढी नै लागि परेका छन् । गाउँबाट स्थानीयले बनाएका चकटी, गुन्द्री, ढकिया, टोपी कोसेली ल्याउन सकिन्छ ।














प्रतिक्रिया दिनुहोस्