काठमाडौं, माघ २ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा विभिन्न विदेशी साझेदारबाट प्राप्त एक अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर विकास सहायता परिचालन भएको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यो १६ प्रतिशतले वृद्धि हो ।
आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ३९ करोड ४६ लाख सहायता परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनअनुसार ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदानको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको तुलनामा ऋण सहायतामा वृद्धि भएको र प्राविधिक सहयोगमा कमी आएको मन्त्रालयले जनाएको छ ।
नेपालले गत वर्ष ८१ करोड ९१ लाख डलर ऋण लिएको र ५७ करोड अनुदान प्राप्त गरेको थियो ।
सबैभन्दा धेरै सहयोग गर्ने पाँच बहुपक्षीय विकास साझेदारले कुल सहयोगको करिब ६३ प्रतिशत र पाँच ठूला द्धिपक्षीय विकास साझेदारले २९ प्रतिशत योगदान गरेको मन्त्रालयले जनाएको छ ।
प्राप्त सहयोगमध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणालीमार्फत् प्राप्त भएको छ ।
अझै २२ प्रतिशत सहायता राष्ट्रिय बजेट प्रणालीबाहिरबाट परिचालन भएको मन्त्रालयले जनाएको छ ।
भूकम्पपछिको पुनःनिर्माणका लागि चार अर्ब १० करोड ९६ लाख सहयोगको प्रतिबद्धतामध्ये २३ प्रतिशतमात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक सहायताको परम्परागत शैलीमा परिवर्तन आइरहेको बताए ।
ऋण दिनसक्नेको क्षमता, ऋण लिनसक्नेको अवस्थालगायतका कारण सहायताको स्वरुपमा परिवर्तन देखिएको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्