चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँगको भेट वार्तापछि बिहीबार पेइचिङमा आयोजित पत्रकार सम्मेलमा पारवहन तथा यातायात सम्झौताको ‘प्रोटोकल’को मस्यौदाबारे छलफल भएको बताए ।
दुईपक्षीय संवादलाई तीव्र बनाइ मस्यौदालाई अन्तिमरुप दिने सहमति भएको पनि उनले जानकारी दिए ।
चिनियाँ अन्तरदेशीय रेललाई नेपालसम्म विस्तार गर्ने र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा सन्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
चिनियाँ समकक्षी वाङसमेत उपस्थित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव राखेकोसमेत बताए ।
त्यस्तै, ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने उनको भनाइ थियो ।
अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नति गर्ने तथा नयाँ सीमा खोल्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
नेपालको चीनसँगको व्यापार असन्तुलनलाई घटाउन केही सहयोगी कदम अगाडि बढाउन चिनियाँ विदेशमन्त्री वाङलाई अनुरोध गरेको पनि मन्त्री महराले जानकारी दिए ।
मन्त्री महराले बिहीबारै चिनियाँ प्रधानमन्त्री ली खछियाङसँग पनि भेटवार्ता गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्