Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बिहारका मन्त्रीले भने– बिहारको चामल नेपालमा लगेर बेच्ने व्यवस्था मिलाउँछु


0
Shares

नेपालमा पछिल्ला वर्षमा भारतको बिहार, उत्तर प्रदेश लगायतका राज्यबाट खाद्यान्न आयात हुने गरेको छ । यही परिस्थितिका बीच भारतको बिहार राज्यसरकारका एक मन्त्रीले नेपालमा चामल बिक्री बजार विस्तार गर्नका लागि चाँडै नै आफू नेपाल जान लागेको बताएका छन् ।

‘पटना डेली’ अखबारका अनुसार बिहारका उद्योगमन्त्री जयकुमार सिंहले एक कार्यक्रममा स्थानीय किसान–मजदूर प्रतिनिधिलाई सम्बोधन गर्दै नेपालमा बिहारको चामलका लागि बजार विस्तार गर्ने योजनामा आफू रहेको बताएका हुन् ।

उनले बिहारका उद्योग विभागका वरिष्ठ पदाधिकारी तथा बिहार उद्योग एसोसिएसनका प्रतिनिधिसमेतलाई लिएर नेपाल जाने र बिहारको चामल बेच्न बजारको व्यवस्था गर्ने बताएका हुन् । उनले नेपालमा चामल बेच्न सफल भएमा चामलको मूल्य बढ्ने र बिहारका किसानलाई प्रत्यक्ष फाइदा हुने पनि बताए ।

नेपालका अतिरिक्त बंगलादेश पनि चामलको राम्रो बजार भएको उनको भनाइ थियो । दुबै मुलुकमा चामल निर्यात गर्नका लागि आफूले सक्दो पहल गर्ने उनले बताए ।

कुनै बेला भारतमा चामल निर्यात गर्ने मुलुक नेपाल अहिले भारतबाट चामल आयात गर्न बाध्य भइरहेको छ । नेपालमा खेतीयोग्य जमिन घडेरीमा धमाधम परिणत भए पनि धान उत्पादनमा कमी आएको हो । वैदेशिक रोजगारीमा युवाहरुको आकर्षण बढ्दै गएका कारण खेतीका लागि जनशक्ति नहुँदा पनि कतिपय खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ ।