बिराज रोस्यारा (इमेज)
कैलाली, माघ १ । संकटा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको हो ।
मंगलबार धनगढी रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यही एकमात्र गोल नै नतिजामा निर्णायक बन्यो ।
५०औं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने राम्रो मौकालाई सदुपयोग गर्न सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवाल ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
संकटाले अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
थ्रीस्टार र काँकडभिट्टाको भिडन्त
प्रतियोगिताअन्तर्गत् बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर आमने–सामने हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १० लाख पाउँदा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्