Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बढ्दो तापक्रमले हिमालमा चट्टान देखिन थाले, पर्वतीय पर्यटन खतरामा


0
Shares

  नमुना तस्विर (asianews)

नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्यूनीकरण गर्न आवश्यक कदम चालिनुपर्ने बताए ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बढ्दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले यसले पर्वतारोहणमा निकै असर पुग्ने बताए ।

“बढ्दो तापक्रमले चट्टान देखिन थालेपछि आरोहणमा असहजता हुन्छ, यसबाट आरोहण र पदयात्रा रुट पनि परिवर्तन गर्नुपर्ने हुन्छ, पानीका मुहान सुक्ने भएकाले कतिपय हिमाली क्षेत्रका बस्ती नै सार्नुपर्ने समस्या आइरहेको छ,” उनले भने ।

भूकम्पपछि विशेषतः उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा एक ठाउँको पानीको मुहान सुकेर अर्को ठाउँबाट निस्कने क्रम देखिएको शेर्पाको भनाइ छ ।

जलवायु परिवर्तनले निम्त्याएका समस्याको अल्पकालीन र दीर्घकालीन समस्याको समाधानतर्फ पहलकदमी गर्नु नितान्त आवश्यक भएको औंल्याइएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को पछिल्लो तथ्यांकानुसार अहिले हिमालमा वार्षिक ०.०५ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको छ ।

हिमाली क्षेत्रको तापक्रम सन् २०३०(विसं २०८७तिर) सम्म १ देखि २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । हिमालको जति उचाइमा गयो त्यति तापक्रम बढिरहेको छ ।

बिहान उज्यालो हुँदा घाम हिमालमै लागेको र रातमा पनि घामको राप हिमालमै पर्ने हुँदा हिमालको तापक्रम बढेको विज्ञ बताउँछन् ।

जलवायु परिवर्तनले पर्वतीय र पदयात्रा पर्यटनमा कति असर पुगेको छ भनेर अहिलेसम्म यकिन अध्ययन भएको छैन ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत र चीनको तीव्र औद्योगिकीकरणले नेपालको पर्वतीय क्षेत्रमा वातावरणीय प्रभाव परेको तथा यसले पर्वतारोहण मात्र नभई पानीको मुहान जोगाउन चुनौती थपिएको उल्लेख गरे ।

नेपाल व्यवस्थापन संघका पूर्वउपाध्यक्ष शम्भु रानाले जलवायु परिवर्तनको जोखिमले पर्वतीय पर्यटनमा देखापरेको समस्या र निराकरणका उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रासस