शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगोले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ ।
भैंसीमा गर्भाधान गराएर मासिकरुपमा राँगोबाट रानाले आम्दानी गर्दै आएका हुन् । दैनिक तीनओटाभन्दा बढी भैंसीमा राँगोले गर्भाधान गर्दै आएको छ ।
नगरपालिका क्षेत्रका अधिकांश भैंसीपालकले उन्नत नश्लको राँगो भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैंसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिन्छन् ।
उनले चार वर्षअघि रु ३५ हजारमा खरिद गरेको राँगोले मनग्य आम्दानी दिन थालेको छ ।
पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगोको कमाइले धानिँदै आएको रानाले बताए । राँगोको कमाइबाट आउने रकमले रु दुई लाख खर्चेर घरमै किराना पसल खोलेका छन् ।
किराना पसल र राँगोको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउँछन् ।
राँगो पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिइ घाँसखेती गर्दै आएका छन् । राँगोलाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन् ।
‘घरमै बसिबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छ’–रानाले भने ।
राँगो नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार–सुसारमा खट्ने गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्