प्रधानमन्त्री देउवाको चौथो ‘इनिङ’को ‘हनिमुन’ समय आफ्नै कार्यशैलीले आलोचनारहित बन्न सकेन ।
तर, संविधान कार्यान्वयनका सवालमा प्रधानमन्त्री देउवा पहिलो तीन महिनाको अवधिमा सफल भएका हुन् ।
संविधानप्रति असन्तुष्टि जनाउँदै चुनाव बहिस्कार गरेका समूहलाई चुनावमा सहभागी गराउनु, स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु र तेस्रो चरणको निर्वाचन पनि लगभग सम्पन्न हुने अवस्थामा पुग्नु प्रधानमन्त्री देउवाका लागि सुखद् विषय हुन् ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले प्रधानमन्त्री देउवाको १०० दिन राजनीतिक मुद्दामा पूर्ण सफल भएको बताए ।
तर, प्रधानमन्त्री देउवा कार्यकालको पहिलो १०० दिन विवादरहित भने रहेन । प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचारलाई पहिलो प्राथमिकतामा राखेपनि व्यवहारमा लागू भएन ।
तराई क्षेत्रमा वर्षेनि हुने डुबान समस्याको दीर्घकालीन समाधान गर्न असफल भएको भन्दै वर्तमान सरकारको आलोचना भएको छ ।
नेपाल सार्क राष्ट्रको अध्यक्ष भएपनि सार्क सम्मेलनका लागि प्रधानमन्त्री देउवाले कुनै ठोस पहल गर्न सकेका छैनन् । पाँचपटक मन्त्रिमन्डल विस्तार गरेर इतिहासमै ‘जम्बो’ मन्त्रिपरिषद गठन गरेर देउवा आलोचनाको पात्र बने ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले देउवा नेतृत्वको सरकार १०० दिनमै मुलुकका लागि बोझ भएको टिप्पणी गरे ।
तर, सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय मुद्दामा खोट लगाउने ठाउँ नभएपछि एमालेले झिनामसिना कुरामा सरकारको आलोचना गरिरहेको टिप्पणी गरे ।
१०० दिनको अवधिमा वर्तमान सरकारले संसद र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण, क्षेत्र निर्धारणलगायतका काम अगाडि बढाएर आगामी दुई तहको निर्वाचन सुनिश्चितता गरेको छ ।
आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता हस्तान्तरण गरेपछि देउवा २३ जेठमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्