महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गरे ।
उनले ‘विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्छ’–भने ।
एक वर्षअघि आफू प्रधानमन्त्री छँदा बजेट नै विनियोजन गरिएका मधेसका विकास योजना आफ्नो सरकार ढालिएसँगै ढलेको ओलीको भनाइ थियो ।
मधेसमा एमाले र आफूविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे पनि मधेसी जनताले भ्रम फैलाउनेको खेल बुझिसकेको अध्यक्ष ओलीले बताए ।
‘मेराविरुद्ध झुठ प्रचारको मधेसमा जेहाद नै छेडिएको छ’–ओलीले भने–‘तर मधेस र मधेसीको समृद्धिका लागि एमालेबाहेक कसैले चूँसम्म बोलेको छैन ।’
चुनावीसभालाई एमाले केन्द्रीय सदस्य तथा सांसद रामदयाल मण्डल र गणेश पहाडी एवं केन्द्रीय सदस्य देवशंकर पौडेल, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र तामाङ र विद्यार्थी नेता दीपक गौतमलगायतले सम्बोधन गरेका थिए ।
एमालेका बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न चुनावीसभामा गायक बद्री पंगेनी, प्रिया भण्डारी र नायिका वर्षा राउतसहितका कलाकारले गीत–संगीत प्रस्तुत् गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्