काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
आज भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन । यस्तै सिता राना मगरले १६ रन जोडिन । ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् ।
मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो ।
मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिइन् ।
यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए । जितसंगै समूह ’ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ ।
पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्