२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दसैं मनाउन काठमाडौंबाट ‘१९ लाख बाहिरिए’


0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारकाअनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रीको संख्यालाई दसैंका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।

बडादसैंका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेसा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरु धमाधम बाहिरिरहेका छन् ।

विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रीले लामो समय ट्राफिक जामको समस्या भोग्नुपरिरहेको छ ।

प्रवक्ता रञ्जितकारले सडक विस्तारकाक्रममा भत्काइएको संरचनाको कारण सो क्षेत्रमा जाम भइरहेको बताए ।

उनले भने–‘सम्झौताको काम सुरु नहुँदै हामीले आग्रह गरेर ठेकेदारलाई कलंकीबाट थानकोटसम्मको सडकका खाल्डाखुल्डी पुर्न लगायौं, अझै सडक सफा नभएकाले केही समस्या परेको छ ।’

दसैंमा बाहिरिने यात्रीलाई ध्यानमा राखी उपत्काका १२ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायताकक्ष सन्चालन गरेको छ । सो कक्षबाट यात्रीलाई कुनै समस्या परे सहयोग गर्ने, जानकारी दिने, सवारी भाडा अनुगमन गर्नेलगायत काम भइरहेको छ ।

यस्तै, सवारी–साधनको बढी चाप हुने नयाँसडक, बसपार्क, कलंकीलगायत स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रहरीको भनाइ छ ।

चाडपर्वमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी–साधन चलाउनेको संख्या बढ्ने भएकाले मापसे जाँचलाई तीव्रता दिइएको छ ।

वरिष्ठ उपरीक्षक रञ्जितकारले अरु समयमा साँझमात्रै हुने मापसे जाँच चाडपर्वको अवधिभर दिनभर पनि हुने जानकारी दिऐ । यस वर्ष यही असोज १४ गते विजयादशमी परेको छ ।

कालोबजारी गर्ने ३० पक्राउ
टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी–साधनलाई कारबाही गरिएको छ ।

बढी रकम लिनेलाई लिएको रकम यात्रीलाई फिर्ता गर्न लगाइ आवश्यक कानुनी कारबाही गरिएको रञ्जितकारले बताए ।

चाडपर्वमा यात्रीबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरीको भनाइ छ ।