
महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लागि चढाइने परम्परा छ ।
दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानपूजा गरिन्छ ।
यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
हनुमानढोकामा भने आज विहानै राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ । महानवमीमा महालक्ष्मी देवीको पूजाआजा गरिन्छ ।
यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको पूजा गरिन्छ ।
यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।
महानवमीमा श्रीरामले रावणको बध गर्नका लागि शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको प्रसंग पनि छ ।
प्रतिक्रिया दिनुहोस्