
बाग्लुङका जंगलमा चिउरी, धाइरोलगायतका मौरीलाई आवश्यक पर्ने फूल प्रसस्त पाइने भएकाले यहाँका किसान मौरीपालनतर्फ आकर्षित भएका हुन् ।
बाग्लुङको बडिगाउँपालिका-२ दगादुनडाँडा खर्वाङका अधिकांश किसानहरु मौरी पालन व्यवसायमा लागेका छन् ।
महको बढ्दो माग रहेको र आम्दानी पनि राम्रो हुने भएकाले यस क्षेत्रका प्राय किसानहरु मौरीपालन व्यवसायमा आवद्ध छन ।
जिल्ला कृषि विकास कार्यालय बाग्लुङले आवश्यक प्राविधिक तालिम दिएपछि मौरी पालनलाई व्यवसायिक रुपमा संचालन गर्न सहज भएको किसानहरुले बताएका छन ।
कृषि कार्यालयले घारसहित मौरी उपकरणहरु अनुदानमा प्रदान गरेपछि झनै आकर्षित भएको कृषक दुर्गा अर्याल बताउँछन् ।
कृषि कार्यालयको आर्थिक वर्ष २०७१/७२ मा युवा लक्षित कार्यक्रमअन्तर्गत १ लाख ८० हजार रकम अुदानबाट अहिले उत्पादन भएका मह गाउँमा खपत हुने गरेको र माग अनुसारको उत्पादन गर्न आफुहरु लागेको अर्यालले बताउँछन् ।
यहाँ उत्पादित महको मुल्य पनि फरक फरक छ । फुल फुल्ने समयको मह प्रति केजी १५ सय र अन्य सिजनमा उत्पादन भएको मह प्रतिकेजी १२ सयसम्म पर्ने गर्दछ । अधिकांश किसानहरुले ४० घारसम्म मौरी पालेका छन् ।
बाग्लुङमा वार्षिक रुपमा ३२ मेट्रिकटन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न सेवा सुविधासहित किसानहरु मौरी पालनमा आकर्षित भएपनि अन्न वाली, फलफुल तरकारीमा विषाधी प्रयोग गर्नाले मौरीलाई असर गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्