
राष्ट्रिय प्राकृतिक कोष जैविक विविधता संरक्षण केन्द्र चितवनबाट चारजनाको टोली शनिबार बिहान सन्धिखर्क आएको हो ।
केन्द्रका वरिष्ठ वन्यजन्तु प्राविधिक हर्कमान लामा, वन्यजन्तु प्राविधिकहरु तीर्थ लामा, ओमप्रकाश चौधरी र भेटेरीनरी प्राविधिक किरणराज रिजाल चितुवा नियन्त्रणमा लिन जिल्ला आएका हुन् ।
प्राविधिक तीर्थ लामाले सुरुमा जालमा फसाउने विधि अपनाउने र त्यो सम्भव नभए गोली चलाएर भएपनि चितुवालाई नियन्त्रणमा लिने बताए ।
‘हामीलाई स्थानीयको अधिकतम् सहयोगको जरुरत पर्छ’–उनले भने–‘चितुवालाई नियन्त्रणमा लिन कुनै कसर बाकी राख्दैनौं ।’
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा विषशेज्ञको टोली चितुवा प्रभावित क्षेत्रमा गएको छ ।
विशेषगरी सन्धिखर्कको किमडाँडा, कुर, खाँचीकोट, भूमिकास्थानको नुवाकोट र ढिकुरामा चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ ।
चितुवाले गत सोमबार सन्धिखर्क–२ बेहोरेका पदम नेपालीकी ८ वर्षीया छोरी प्रसन्नी नेपालीको ज्यान लिएको थियो ।
गत भदौ २७ गते सन्धिखर्क–७ प्रगतिनगरका ४ वर्षीय बालक मिनस केसीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
पछिल्लो चार वर्षमा यहाँ चितुवाको आक्रणबाट ११ जना बालबालिकाको ज्यान गइसकेको छ ।
बालक केसीको मृत्यु भएपछि नै स्थानीय प्रशासनले चितुवा मार्नका लागि सेना र प्रहरी परिचालन गरेपनि अहिलेसम्म चितुवा फेलापार्न सकिएको छैन ।
चितुवाको आक्रमण बढेपछि स्थानीय निकै त्रासमा छन् । बालबालिकाहरु अभिभावकको सहारामामात्र विद्यालय जान थालेका छन् ।
चितुवाले दैनिकजसो बाख्रा–कुखुरा खाइदिने गरेको छ । स्थानीय गाईबाख्रा चराउन जंगल जान पनि छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्