काठमाडौं, पुस २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ४१औं संस्करण सकिएको छ ।
मनाङ–मर्स्याङ्दी क्लबलाई उपाधि सुम्पँदै लिग मंगलबार सकिएको हो ।
मनाङले ३६ अंकसहित शीर्ष स्थानमा रहेर कीर्तिमानी आठौंपटक उपाधि जितेको हो ।
मंगलबार अन्तिम खेलमा भने मनाङ फ्रेन्ड्स क्लबसित १–० ले पराजित हुँदै शतप्रतिशत नतिजाको कीर्तिमानबाट चुक्न पुग्यो ।
इन्जुरी समयको अन्तिम मिनेटमा फ्रेन्ड्सका विकास लामाले गोल गरेका थिए ।
२८ अंकबाट संकटा क्लब उपविजेता भएको छ भने २६ अंकसहित थ्रीस्टार क्लब तेस्रो भएको छ ।
त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरीको एपीएफ पाँचौं तथा नेपाल पुलिस क्लब छैटौं भयो ।
एनआरटी पुछारमा
त्यस्तै, मंगलबारै अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित गोलरहित बराबरी खेलेपछि चारपटकको च्याम्पियन न्यूरोड टिम (एनआरटी)ले पुछारमा रहेर लिग सकाएको छ । मच्छिन्द्र क्लब पुछारबाट दोस्रो भयो ।
विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख तथा छैटौं हुने टिमले ५ लाख रुपैयाँ जितेको छ ।
‘फेयर प्ले’ टिम बीबीसी
त्यस्तै, ‘फेयर प्ले’ टिम बीबीसीले एक लाख रुपैयाँ जितेको छ ।
हरेक खेलका विजेता टिमले ५० हजार रुपैयाँ पाउने भएकाले मनाङले सर्वाधिक ६ लाख रुपैयाँ हात पारेको छ ।
यी हुन् उच्च गोलकर्ता
लिगमा मनाङका अफिज अलावाले, थ्रीस्टारका रन्जित धिमाल र आर्मीका भरत खवास समान सात गोल गर्दै उच्च गोलकर्ता रहे ।
उत्कृष्ट
विधागतरुपमा मनाङका खेलाडीहरु उत्कृष्ट रहे । मनाङबाट उत्कृष्ट गोलकिपरमा विशाल श्रेष्ठ, मिडफिल्डरमा हेमन गुरुङ र प्रशिक्षकमा सुमन श्रेष्ठ रहे ।
त्यस्तै, डिफेन्डरमा थ्रीस्टारका रन्जित धिमाल र फरवार्डमा आर्मीका भरत खवास रहे ।
विधाका उत्कृष्टले जनही एउटा बजाज पल्सर मोटरसाइकल पाएका छन् ।
प्रतियोगितामा आर्मीका विकास खवास इमर्जिङ खेलाडी बन्न सफल भए ।










प्रतिक्रिया दिनुहोस्