
राष्ट्रिय अभिलेखालयमा सातौं शताब्दीदेखिका दुर्लभ ग्रन्थहरु, विभिन्न कालखन्डमा नेपालले विदेशसँग गरेका सन्धि–सम्झौताहरु, सीमा नक्सालगायतका महत्वपूर्ण दस्तावेजहरु रहेका छन् ।
दस्तावेजहरुलाई जीवाणुबाट जोगाउन कपडामा पोको पारेर राखिएको छ भने महत्वपूर्ण दस्तावेजहरुको फिल्म बनाउने काम पनि भइरहेको छ ।
अभिलेखालयका प्रमुख सौभाग्य प्रधानांगले अभिलेखालयमा युनेस्को मेमारी अफ द वर्ल्ड रजिष्ट्रारमा सूचीकृत शैवतन्त्रको ग्रन्थ, निश्वास तत्वसंहिता, शारदा लिपिमा लेखिएको बौद्धदर्शनको ग्रन्थ कारण्यव्यूह, शिवधर्म, विष्णुधर्म, ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, भारतीय कागजजस्ता विविध लेख्य सामग्रीहरुको प्रयोग गरिएका ग्रन्थहरु पनि रहेको बताइन् ।
प्रमुख प्रधानांगले प्राचीन ग्रन्थहरु सुरक्षित राख्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिएको बताइन् ।
अभिलेखालयमा भएका ३० हजार हस्तलिखित ग्रन्थहरुको माइक्रो फिल्म बनाइसकेको र अभिलेखालयमा नभएका र गुम्बा, गुठी, विहारहरुमामात्र भएका ग्रन्थहरुको पनि १ लाख ५० हजार माइक्रो फिल्म बनाइसकेको उनले जानकारी दिइन् ।
नेपालमा रहेकोे एकमात्र अभिलेखालयमा अध्ययन–अनुसन्धानका लागि देश–विदेशबाट वर्षेनि लाखौंको संख्यामा विज्ञहरु आउने गरेका छन् ।
नेपाल सरकारका विभिन्न निकायहरुमा रहेका २५ वर्ष पुराना राष्ट्रिय हिसाबले महत्वपूर्ण अभिलेखहरु अभिलेखालयमा बुझाउनुपर्ने कानुन भएपनि त्यस्ता अभिलेखहरु आजसम्म पनि नआइपुग्नु चिन्ताको विषय भएको प्रधानांगको भनाइ छ ।
नेपाल सरकारले पुरातत्व विभागअन्तर्गत् रहेको यस अभिलेखालयलाई अन्यत्र सार्ने भनेर तय गरिसकेको भएपनि ठाउँको टुंगो नहुँदा अन्योल उत्पन्न भएको छ ।
राष्ट्रको इतिहास, संस्कृति र सभ्यताको विकासक्रम थाहा पाउन तिनीहरुको कुनै न कुनै ठाउँमा संरक्षण गर्नैपर्यो, जुन राष्ट्रिय अभिलेखालयले ५० वर्षदेखि गर्दै आइरहेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्