१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सांगीतिक वृत्तको सबैभन्दा ठूलो उत्सव ‘ईमेज अवार्ड’ आज


0
Shares

ईमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो उत्सव ईमेज अवार्डको १९ औँ संस्करण हुन लागेको हो ।

१९ औं ईमेज अवार्डमा विगतका वर्षमाजस्तै यस वर्ष पनि गीत, संगीत, रचना, संगीत संयोजनलगायत म्युजिक भिडियो र सार्वजनिक रुचि (पब्लिक च्वाइस) समूह गरी २३ विधामा विजेता घोषित गरिने छ । सबै विधाका उत्कृष्ट पाँच/पाँच मनोनयन सार्वजनिक गरी त्यसकै आधारमा विज्ञको रोजाइ र दर्शकको मतका आधारमा विजेता घोषणा गरिन लागेको हो ।

२०७३ साल असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भएका सृजनामध्येबाट २३ विधाका उत्कृष्ट पाँचमा पर्न सफल सृजना र सर्जकमध्ये प्रत्येक विधाका सर्वोत्कृष्ट एकलाई अवार्ड वितरण गरिने छ । २३ विधामा मनोनयनमा परेकामध्ये निर्णायकमण्डलबाट प्राप्त प्राविधिक मत र एस.एम.एसबाट प्राप्त पपुलर मतका आधारमा विजयी घोषित गरिने भएको छ ।

नेपाली गीत संगीतको उत्थान गर्ने उद्देश्यले ईमेज च्यानलले हरेक वर्ष ईमेज अवार्ड प्रदान गर्दै आएको छ । संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ईमेज अवार्ड गरिँदै आएको हो ।

ईमेज अवार्डमा गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउने एक जना कालजयी श्रष्टालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने परिपाटी अनुसार यस बर्ष वरिष्ठ संगीतकार दीपक जंगमलाई सम्मान गरिँदैछ ।

अपराह्न ४ बजेदेखि होटल सोल्टीमा शुरु हुने ईमेज अवार्ड वितरण कार्यक्रमको ईमेज च्यानल, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खबर डट कमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।