१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


नेपाल विभिन्न देशको स्वार्थको चेपुवामा पर्दैन : परराष्ट्रमन्त्री


0
Shares

काठमाडौं, पुस २२ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विभिन्न देशको स्वार्थको चेपुवामा नपर्ने भन्दै त्यसमा सरकार सचेत रहेको बताएका छन् ।

विभिन्न सञ्चार माध्यमका सम्पादहरुसँगको अन्तक्र्रियाका क्रममा उनले देशको बाह्य सम्बन्धको मुल आधार राष्ट्रिय हित रहेकाले राष्ट्रिय सुरक्षा र बाह्य सम्बन्धका बारेमा कलम चलाउँदा राष्ट्रहितलाई केन्द्रमा राख्न आग्रह गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले लामो आन्दोलनपछि प्राप्त भएको राजनीतिक स्थायित्वको बलमा सरकार आर्थिक सम्मृद्धिको अभियानमा लागेको बताए । अहिले सरकारको कूटनीतिक सम्बन्ध पनि आर्थिक सम्मृद्धिमै केन्द्रीत भएको भन्दै उनले हरेक देशसँगको सम्बन्ध सम्मृद्धि अभियानसँग जोडेर अगाडि बढाइने बताए ।

छिमेकीसँग सँधै तुष पालेर अड्किराख्न नहुने भन्दै उनले छिमेकीसँगको सम्बन्ध तुलना गर्न पनि नहुने बताए । यो देशभन्दा त्यो देश नजिक भनेर तुलना गर्न नहुने उनको भनाइ थियो । उनले आवश्यकताका आधारमा हरेक देशसँग सम्बन्ध राखिने बताए ।

भारतसँगको आफ्नै विशिष्टिकृत सम्बन्ध रहेको भन्दै उनले चीन वा अन्य छिमेकीसँग पनि त्यस्तै विशेष सम्बन्ध रहेको बताए ।

भारतसँगको सम्बन्ध सुदृढ हुँदै गएको दावी गर्दै, रेल मार्गमा भएका प्रगति, ईनर्जी बैंकिङ, हवाई नाका, पेट्रोलियम पाईपलाईन, ईपीजी प्रतिवेदन, विराटनगर फिल्ड अफिस हटेका लगायत उदाहरण उनले प्रस्तुत गरे ।

यसैगरि चीनसँगपनि ८ वटा नाका प्रयोग, पारवहन सम्झौता, बिआरआईमा हस्ताक्षर, तातोपानी नाका लगायतका विषयमा सफलता हासिल भएको भन्दै उनले औपचारिकका साथसाथै अनौपचारिक सम्बन्ध स्थापना भएको दावी गरे ।

उनले नेपालको चाहना आर्थिक सम्मृद्धि भएको भन्दै त्यसमा सघाउने जुनसुकै देशसँग पनि सम्बन्ध राख्न तयार रहेको बताए ।

सार्कमा अपेक्षाकृत सफलता हासिल नभएपनि यसका संयन्त्रहरु सक्रिय रहेको भन्दै उनले विमस्टेक जस्ता सम्मेलनको सफल आयोजनाले अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति विश्वास बढेको दावी गरे । सांघाई कोअपरेशनमा नेपालले आशातित प्रगति गर्दै गएको भन्दै उनले नेपालले अब्जर्भरको रुपमा रहन पत्राचार गरेको जानकारी दिए ।

यसैगरि उनले नेपाल श्रम साझेदारी कुटनीतिमा पनि सफलतातर्फ उन्मुख भएको भन्दै मलेशियासँगको श्रम सम्झौता र जापान कामदार पठाउन भएको पहललाई उदाहरणका रुपमा प्रस्तुत गरे ।

एक फरक जिज्ञासामा उनले विमानस्थलमा अध्यागमनको अन्तिम चेकजाँचपछि पनि भारतीय विमानमा प्रवेश गर्नुअघि हुने चेकजाँचलाई गलत भएको टिप्पणी गरे । उनले भने, ‘त्यो फेयर छैन, समयक्रममा हामी निष्कर्षमा पुग्छौं ।’