
महेश काफ्ले (इमेज)
बैंकक, असार १६ । थाइल्यान्डको बैंककमा शनिबारदेखि सुरु भएको पहिलो थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको पहिलो दिन प्रतिस्पर्धा गरेका नेपाली खेलाडी दीपक श्रेष्ठ पराजित भएका छन् ।
थाइल्यान्ड बक्सिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको ७५ केजीमुनितर्फ दीपकलाइ काजखस्तानका अमान काजन्कापोभले पराजित गरेका हुन् ।
प्रतियोगितामा ५६ केजीमुनि बिमल रोका, ६० केजीमुनि एकबहादुर घले, ६४ केजीमुनि भूपेन्द्र थापा, ६९ केजीमुनि विष्णुप्रसाद घले र ४९ केजीमुनि तेजबहादुर देउवाले प्रतिस्पर्धा गर्दैछन् ।
जम्मा सातजना नेपाली खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भनिएकामा ५२ केजीमुनितर्फका प्रेम चौधरी मेडिकल परीक्षणमा अनुत्तीर्ण भएपछि ६ जना नेपाली खेलाडी प्रतिस्पर्धामा छन् ।
यसअघि, किंग्स कपकारुपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा नेपालसहित अरु ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल बक्सिङ संघको व्यवस्थापनमा आसन्न एसियन गेम्सको तयारीका लागि नेपाली बक्सिङ टिम यतिबेला थाइल्यान्डमा छ ।
थाइल्यान्डमा दुईमहिने लामो प्रशिक्षण सकाएर नेपाली टोली एसिएन गेम्स खेल्न सोझै इन्डोनेसिया प्रस्थान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्