२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


६ ओटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्ने


0
Shares

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये २९९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदेशसभाको मतपरिणामले अब ७ मध्ये प्रदेश नम्बर–२ बाहेक बाँकी ६ ओटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्ने निश्चित देखिएको छ ।

प्रदेश नम्बर–१ मा प्रत्यक्षतर्फ जम्मा ५६ सिटमध्ये हालसम्म घोषित परिणाममा एमाले ३४ स्थानमा विजयी भएको छ भने ३ स्थानमा अग्रता लिएको छ ।

माओवादी केन्द्र ९ स्थानमा विजयी र एक सिटमा अग्रस्थानमा छ ।

त्यसैगरी, नेपाली कांग्रेस ६ स्थानमा विजयी र एक स्थानमा अगाडि छ ।

संघीय समाजवादी फोरम नेपाल र स्वतन्त्र एक÷एक स्थानमा विजयी भएका छन् ।

प्रदेश–२ मा ६४ सिट संख्या रहेको छ । संघीय फोरम १८ स्थानमा विजयी भएको छ । त्यसैगरी, एमालेले ११ स्थानमा विजयी र एक स्थानमा अग्रता लिएको छ ।

राजपा नेपाल ११, कांग्रेस ८, माओवादी केन्द्रले ७ स्थानमा जित हासिल गरेका छन् । राजपा ४, संघीय फोरम एक र स्वतन्त्रको एक स्थानमा अग्रता छ ।

त्यसैगरी, प्रदेश नम्बर–३ मा प्रत्यक्षतर्फ जम्मा ६६ सिटसंख्या रहेको छ । हालसम्म घोषित परिणाममा एमालेले ३२ स्थानमा विजयी र ९ मा अग्रता लिएको छ ।

माओवादी केन्द्रले १३ मा जित दर्ता गरेको छ भने एक स्थानमा अग्रता लिएको छ ।
कांग्रेस ७ र नयाँ शक्ति पार्टी एक स्थानमा विजयी भएका छन् । यस्तै, नेमकिपाले एक स्थानमा अग्रता लिएको छ ।

प्रदेश नम्बर–४ का ३६ सिटमध्ये एमालेले १५ स्थानमा जितेको छ । माओवादीको ७ स्थानमा जित र एक स्थानमा अग्रता छ ।

यस्तै, कांग्रेस ५, राष्ट्रिय जनमोर्चा २, नयाँ शक्ति एक र स्वतन्त्र एक स्थानमा विजयी भएका छन् ।

प्रदेश नम्बर–५ का ५२ मध्ये घोषित परिणाममा एमालेले २६ मा जित २ मा अग्रता लिएको छ । यसैगरी, माओवादी केन्द्र १६, कांग्रेस ५ र संघीय फोरम ३ स्थानमा विजयी भएका छन् ।

प्रदेश नम्बर–६ मा २४ सिट संख्या रहेको छ । घोषित परिणाममा एमाले १४, माओवादी केन्द्र ८ र नेपाली कांग्रेसले एक स्थानमा जित हासिल गरेका छन् ।

प्रदेश नम्बर–७ को ३२ स्थानमध्ये एमाले १३ स्थानमा विजयी र २ स्थानमा अगाडि छ । माओवादी केन्द्रको ७ मा जित २ मा अग्रता छ भने नेपाली कांग्रेस ५ स्थानमा विजयी भएको छ । राजपाले एक स्थानमा अग्रता लिएको छ ।