Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


शीतलहरले तरकारी बालीमा डढुवा रोगको समस्या


0
Shares

धनगढी, पुस १७ । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ ।

शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्‍याएको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ ।

शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।

शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताए ।

‘ठूलो लगानी गरेर खेतमा आलु खेती गर्‍यौं, अहिले आएर डढुवाको प्रकोपले बोट कुहिन थालेको छ, चौधरीले भने, ‘वर्षेनी मंसिर, पुसमा हुने शीतलहरले आलुलगायतका बालीमा डढुवा प्रकोपको समस्या देखिँदा व्यावसायिक तरकारी खेतीमा लागेकाको मनोबल घटेको छ ।’

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिन्छन् ।

जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बाक्लो हुस्सु लाग्ने गरेका कारण दैनिक हवाई सेवाको सुविधा भएको ७ नम्बर प्रदेशको एकमात्र धनगढी विमानस्थलको हवाई उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । रासस