
जनसंगीत मञ्च नेपालले आयोजना गरेको ‘आरोह जनसंगीत यात्रा–२५’मा टुहुरेको एकल गायन कार्यक्रममा स्रोेताले पनि गीतमा स्वर मिलाउँदै गाए । करिब १० ओटा गीत गाएका टुहुरेले उक्त गीत अन्तिममा गाउँदा स्रोता झन् उत्साहित हुँदै थिए ।
पिछडिएका महिलालाई उठाउन गाइएको गीत गाउने क्रममा उनले पहिले चुलोचौका गर्ने महिलाहरु अहिले राज्यको प्रमुख स्थानमा पुगेकामा खुशी व्यक्त गरे । ‘पहिला उक्त गीत आमा, दिदी बहिनीको वेदना देखेर गाए पनि अहिले भने परिवर्तन आएको छ’, उनले भने, ‘अहिले हाम्रा आमा, दिदीबहिनी राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बन्नुभयो ।’
कार्यक्रममा मदन भण्डारीको निधन, विदेशमा श्रम गर्दाका समस्या, बसाइँ सर्नेको व्यथा, राष्ट्रिय एकता, छुवाछुतविरुद्ध, गाउँमा उकालीओराली गर्दाको दुःख विसं २०४५ माघ १ मा पञ्चायतले पिस्करमा गरेको दमनजस्ता विषयका १० गीत गाएका थिए ।
‘साना साना ढंगा माटो मिली अग्लो पहाड बन्छ, साना साना खोलाखोली मिली ठूलो नदी बन्छ, सागर बन्छ’, ‘पानी चल्दैन रे तर रगत चल्दछ, कहिलेसम्म यस्तो ढोंगी जगत् चल्दछ’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार ’ जस्ता बोलका गीत गाउँदा ७३ वर्षीय टुहुुरेमा तीसको दशककै जस्तो जोश थियो ।
उनलाई गायनमा माधव प्रधान, डम्बर पहाडी, आकाश गोर्खाली, भागीरथ सुस्लिङ र वेदनिधि नेपालले संगीतमा साथ दिएका थिए । आफ्ना गीतहरु गाउनुपूर्व उनले गत मंसिर ६ गते निधन भएका जनवादी गायक खुशीराम पाख्रिनका गीत गाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर–३ मा नवनिर्वाचित कृष्ण राईले मदन भण्डारीलाई आफूहरुको सांस्कृतिक अभियानले नै सुरुमा प्रस्तुत गरेको जानकारी दिए । नेकपा एमाले संस्कृति विभाग प्रमुख तथा महासंघका अध्यक्ष खगेन्द्र राईले जनसंगीत यात्रामा नयाँ पुराना दुवै प्रतिभालाई स्थान दिइने बताए ।
महासंघका महासचिव प्रेमनाथ अधिकारीले टुहुरेका गीतले वास्तविक समाजको चित्रण गर्ने बताए । मञ्चले हरेक महिनामा एक जनवादी गायकलाई एकल प्रस्तुति गर्ने अवसर दिँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्