
दोर्दीदोलामा मोटरेवल पुल निर्माण सुरु भएको छ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । पुल निर्माण नहुँदा जलविद्युत् आयोजना निर्माणका सामग्री ढुवानीमा समस्या भएको छ ।
सो क्षेत्रमा चारवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । ढुवानीका साधन वारपार गर्नुपर्ने दोर्दीखोलामै पुल नबन्दा निर्माण कार्यमा ढिलाइ भएको छ ।
बेसीसहर नगरपालिकाको वडा नं. ११, चिती र दोर्दी गाउँपालिका ४, नौथर जोड्ने दोर्दीखोलामा करिब ६ वर्षअघि पक्की पुलको निर्माण थालिए पनि हाल अलपत्र अवस्थामा छ ।
खोलामा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि मालबाहक सवारी चलाउन समस्या भएको छ ।
दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले उक्त पुल नबन्दा निर्माणाधीन आयोजनामा मात्रै नभएर सिङ्गै गाउँपालिकाका बासिन्दालाई समस्या परेको बताए ।
पुल नबन्दा दोर्दी क्षेत्रका नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनीलगायतका स्थानीयलाई आवतजावत, खाद्यान्न ढुवानीलगायतमा समस्या परेको हो ।
डिभिजन सडक कार्यालय दमौलीका अनुसार २०६८ चैतमा शिलान्यास गरिएको उक्त पुलको निर्माण कार्य २०७० असारमा सकिनुपर्ने थियो ।
२०६८ चैतमा शिलान्यास भएर काम अघि बढेकोमा अहिलेसम्म खोलामा ३ वटा पिलर, एकातर्फ केही ‘सपोर्टिङ वाल’ र एक तिहाई भागमा ट्रस निर्माण मात्र गरिएको छ ।
७५ मिटर लम्बाइ र ६ दशमलब २५ मिटर चौडाइको यो पुल निर्माणको लागत करिब ४ करोड रुपैयाँ पर्ने छ ।
पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाई गरेको डिभिजन सडक कार्यालय दमौलीका प्रमुख डिभिजन इन्जिनियर भानु जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्