१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


लोकबाजा संग्रहालय लथालिंग अवस्थामा


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, मंसिर २० । लोकबाजाहरुको संग्रह तथा संरक्षणका लागि स्थापना गरिएको नेपाली लोकबाजा संग्रहालय आफैं अस्तव्यस्त अवस्थामा छ ।

दुई दशकअघि स्थापना गरिएको यो संग्रहालय उचित व्यवस्थापन र प्रवर्धनको पर्खाइमा छ ।

संग्रहालय एउटा यस्तो स्थान हो, जसले विशेष महत्वका सामग्रीहरुको संग्रह गरी प्रदर्शन र प्रचार गर्ने गर्दछ ।

संग्रहालयहरुको उपयोग अध्ययन, अनुसन्धान र मनोरन्जनका लागि महत्वपूर्ण मानिन्छ । तर, नेपालका अधिकांश संग्रहालयजस्तै नेपाली लोकबाजा संग्रहालय पनि लथालिंग अवस्थामा पुगेको छ ।

वि.सं. २०५२ सालमा स्थापित यो संग्रहालय नेपालको एकमात्र बाजा संग्रहालय हो । यस संग्रहालयमा ६०० भन्दा बढी नेपाली लोकबाजा रहेका छन् ।

त्रिपुरेश्वर, शिव महादेव मन्दिर परिसरमा रहेको यस संग्रहालयमा वार्षिक करिब २० हजार अवलोकनकर्तामात्र पुग्ने गरेका छन् ।

संग्रहालय पुग्नेमा विद्यार्थीको संख्या धेरै रहेको छ भने फाट्ट–फुट्ट विदेशी पर्यटक पनि यहाँ पुग्ने गर्दछन् ।

साँघुरो स्थान र थोरै पूर्वाधारका आधारमा संंग्रहालय सन्चालन गर्नुपर्ने बाध्यता रहेको संग्रहालयका संस्थापक रामप्रसाद कँडेल बताउँछन् ।

हरेक बाजाले संस्कृतिको मौलिक पहिचान बोकेको हुन्छ । त्यसैले पनि भावी पुस्ताका लागि यस्ता संग्रहालयको उचित व्यवस्थापन गर्नु जरुरी छ ।