२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालमा अब कोहीपनि भोकले मर्न पर्दैन, सरकारले जिम्मा लिन्छ : प्रधानमन्त्री


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघद्वारा राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय व्यापार मेला समग्र मुलुकको व्यवसायिक प्रवद्र्धनमा कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जनताको जीवनस्तर उकास्न आफूले सम्पूर्ण प्रयास गर्ने विश्वास दिलाउँदै अब मुलुकमा कोहीपनि भोकले मर्न नपर्ने र त्यसको जिम्मा सरकारले लिने उद्घोषसमेत गरे ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणका विषयमा आफूले अध्ययन गरेर छिट्टै निर्णयमा पुग्नेसमेत उनले निजी क्षेत्रलाई विश्वास दिलाए ।

अब आफ्नो कार्यकाल जनताको चाहनाअनुसारको विकास गरी उनीहरुलाई सुखी, समृद्धि बनाउनुमै केन्द्रित हुने उनले उल्लेख गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका विषयमा निजी क्षेत्र जानकार रहेको र यो कठिन अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको नेतृत्वदायी भूमिका सरकारले खोजेको स्पस्ट पारे ।

यस्तै, महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको अभियानको थालनी महासंघले सुरुआत गरिसकेको भन्दै अन्तर्राष्ट्रिय मेला समग्रमा नेपालको प्रवद्र्धनमा महत्वपूर्ण मञ्च रहेको दाबी गरिन् ।

‘सोकेसिङ नेपाल एन्ड दी ग्लोब’को मुख्य अवधारणामा प्रत्येक वर्ष आयोजना हुँदै आएका मेलाको यो सातौं संस्करण हो ।

३०० भन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशहरूको सहभागिता रहेको छ ।