३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


नेपालको लगातार तेस्रो हार, सुपर सिक्समा पुग्ने सम्भावना लगभग समाप्त


0
Shares

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको मद्दतमा निर्धारित् ५० ओभरको एक बलअगाडि अलआउट हुँदै १९४ रन जोडेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३/२३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४, कप्तान रसिद खानले ३ तथा शापूर जर्दानले २ विकेट लिए ।

जवाफमा १९५ रनको चुनौती अफगानिस्तानले ३९औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अफगानिस्तानका नाजिबुल्लाह जर्दान ५२ रनमा अविजित रहे । रहमत शाहले ४६, मोहम्मद नाबीले ३४ रन बनाएको अफगानी इनिङ्समा जावेद अहमदले २६ तथा कप्तान रसिद खानले २१ रनको योगदान गरे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।

समूह चरणमा यसअघि खेलेको तीनओटै खेलमा पराजित अफगानिस्तानले अन्तिम खेलमा नेपाललाई पराजित गरेसँगै ‘सुपर सिक्स’ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

लगातार तेस्रो हार व्यहोरेसँगै नेपालको भने सुपरसिक्स चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ । नेपाल पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ११६ रनले तथा दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।

समूहको अन्तिम खेलमा हङकङलाई पराजित गरे पनि नेटरनरेट निकै कमजोर भएका कारण नेपालको सम्भावना लगभग सकिएको हो ।

नेपालले समूहको अन्तिम खेलमा आगामी सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।