हङकङले नेपाललाई दियो १५४ रनको चुनौती • Image Khabar Image Khabar


हङकङले नेपाललाई दियो १५४ रनको चुनौती


Imagekhabar
२८ फाल्गुन २०७४, सोमबार १६:५९

हङकङले नेपाललाई दियो १५४ रनको चुनौती

खेल विजयका लागि नेपालले १५४ रनको चुनौती पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८ ओभर २ बलमा अलआउट हुँदै १५३ रन बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । बसन्त रेग्मी र करण केसीले समान २/२ तथा सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

नेपालले कसिलो बलिङ गर्न नसक्दा भने नेपालको ‘सुपर सिक्स’मा पुग्ने सम्भावना सकिएको छ । सुपर सिक्समा पुग्न नेपालले निकै सस्तोमा हङकङलाई समेटेर कम बलमै जित हासिल गर्नुपर्ने थियो ।

अफगानिस्तान र हङकङको रनरेट नेपालकोभन्दा बढी भइरहँदा नेपालले यो खेल जित्दासमेत पनि सुपर सिक्समा पुग्न पाउने छैन । तर, नेपालको एक दिवसीय मान्यता पाउने सम्भावना भने अझै कायमै छ ।

नेपालले झिनो अन्तरमै हङकङलाई हराएको खन्डमा पनि एक दिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ‘ए’को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

एसोसिएट राष्ट्रहरु स्कटल्यान्डजस्तै समूह ‘ए’बाट युएई र ‘बी’बाट हङकङले सुपर सिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ । यसमध्ये एक टिममात्र असफल भएको खन्डमा सातौं हुने टिमले एक दिवसीय मान्यता पाउनेछ ।

सुपर सिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्लेअफ हुनेछ । यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तीमा एक टोली सुपर सिक्समा पुग्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्