
२० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने राससलाई जानकारी दिए ।
२० वर्ष पुराना सवारी गुडाएमा समातेर कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले सुनाए ।
फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इन्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएकामा थोरै सवारीलेमात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपुर्जा बेच्न सक्नेछन् ।
देशभर गुडिरहेका २० वर्ष पुराना सवारी–साधनका कारण वायुप्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो ।
विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी–साधन हटाउन लागेको हो ।
विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी–साधन हटाएको थियो ।
यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ ।
मन्त्रिपरिषदले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी–साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो ।
विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी–साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यकाबाहिर २०० छन् ।
ब्याट्रीबाट चल्ने सवारी–साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषदले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताए ।
हाल देशभर पाँच हजार ५०० ओटा २० वर्ष पुराना सवारी–साधन गुडिरहेको तथ्यांक विभागसँग छ । रासस
प्रतिक्रिया दिनुहोस्