सात महिनासम्ममा नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित • Image Khabar Image Khabar


सात महिनासम्ममा नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित


Imagekhabar
४ चैत्र २०७४, आईतवार २०:५४

सात महिनासम्ममा नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित

राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ महिनासम्मको आर्थिक स्थिति सार्वजनिक गर्दै कृषि क्षेत्रको उत्पादन कम रहे पनि गैरकृषि क्षेत्रमा सुधार आएको जनाएको हो । तराई क्षेत्रमा भएको लगातारको वर्षा तथा डुबानका कारण वर्षे धानको उत्पादनमा असर गरेको छ । हिउँदे वर्षा पर्याप्त हुने सकेन । तसर्थ, कृषि क्षेत्रको उत्पादन वृद्धि अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान राष्ट्र बैंकको छ ।

गैर कृषितर्फ, उर्जा, निर्माण तथा पुनर्निर्माण एवम् पर्यटन क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने देखिएको राष्ट्र बैंकले जनाएको छ । केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएकाले औद्योगिक क्षेत्रको क्षमता उपयोगमा वृद्धि भई समग्र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने देखिएको जनाइएको छ ।

त्यसैगरी, नेपालमा आउने पर्यटकको संख्या तथा होटलमा भएको लगानी वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने पनि जनाइएको छ । सिमेन्ट तथा जलविद्युत उत्पादनका आयोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ ।

उल्लिखित कारणका अतिरिक्त, तीनै तहको निर्वाचन सम्पन्न भई सरकारसमेत गठन भइसकेकाले निजी क्षेत्रको लगानीको लागि सहज वातावरण सृजना भएको छ । यी विकासक्रमकको परिणामस्वरुप २०७४÷७५ मा सन्तोेषप्रद आर्थिक वृद्धिको परिदृष्य रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

२०७४ माघ महिनामा वार्षिक बिन्दुुगत उपभोक्ता मुुद्राफीति दर अघिल्लो वर्षको ३.३ प्रतिशतबाट वृद्धि भई ५.० प्रतिशत पुुगेको छ । हालैका महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दरमा बढ्ने प्रवृत्ति देखिए तापनि यस वर्षको औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा न्यून नै रहने अनुमान केन्द्रीय बैंकको छ ।

वित्तीय अवस्था केही कसिलो रहिरहेको छ । बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितिमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो भएको हो ।

आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुँदै जाने पनि राष्ट्र बैंकको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्