
साँफेबगर नगरपालिका वडा नम्बर १२, खप्तडको तल्लोतुकामा होमस्टे उदघाटन गरिएको हो । खप्तड क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको बसोबासका लागि खप्तडमा होमस्टे स्थापना गरिएको छ ।
होमस्टेको अभावमा पर्यटकहरुलाई समस्या हुँदै आएको थियो ।
एक कार्यक्रमबीच साँफेबगर नगरपालिका उपप्रमुख बिर्मला बुडथापाले होमस्टे उदघाटन गरिन् । आर्थिक सशक्तिकरणका लागि पर्यटन प्रवर्द्धन सँगै ग्रामीण क्षेत्रका समुदायको जीविकोपार्जनमा सहज हुने खप्तड वडा नं.१२का वडा अध्यक्ष प्रकाश रानाले बताए ।
उनले विगतमा होम स्टे सञ्चालन नहुँदा आन्तरिक तथा वाह्य पर्यटकहरुको बसोबासका लागि समस्या हुने गरेको बताए । होमस्टे सञ्चालन भएपछि खप्तड क्षेत्रका स्थानीयवासिन्दालाई जीवनयापनमा सहन हुने उनको भनाइ छ ।
उपप्रमुख बुडथापाले साँफेबगर नगरपालिकालाई समृद्ध बनाउने आधार खप्तड क्षेत्र भएको बताईन् । उनले पर्यटकीय क्षेत्र खप्तडमा घुम्न आउने अतिथिहरूलाई आकर्षण गर्ने खालका कार्यमा नगरपालिकाले पनि सहयोग गर्ने बताइन् ।
खप्तड घुम्न आउने पर्यटकलाई लोभ्याउने खालका स्थानीय परिकार तथा सामाग्री उत्पादन गर्न स्थानीयबासिलाई आग्रह गर्दै उनले खप्तड क्षेत्रको विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताईन् ।
खप्तड क्षेत्रमा सडकको पहुँचको लागि नगरपालिका पहल गर्दै आएको उनले बताइन् ।
साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानका अध्यक्ष गणेश खड्काले पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार तथा अतिथि गृहको निरन्तरताको लागि वडाले पनि सहयोग गर्ने बताए । उनले खप्तड आउने पर्यटकहरु संख्या बढाउँदै स्थानीयको जीविकोपार्जन गर्ने कार्यक्रम ल्याउन पहल गर्ने बताए ।
स्थानीयले भौगोलिक रूपमा टाढा, विकासका हिसाबले पछाडि पारिएको साविकको खप्तड गाविसलाई पहिलो प्राथमिकता राखि बजेट विनियोजन गर्नको लागि सरोकारवालसँग आग्रह गरेका छन् ।
पर्यटकीय क्षेत्रको सम्भावना भए पनि सडक पहुँच नभएका कारण पर्यटक आवागमन हुन नसकेको खप्तड पर्यटन बोर्डका सदस्य अंग कडायतले बताए । उनले खप्तड पर्यटन बोर्डको गठन भए पनि अस्थिर राजनीतिका कारण काम गर्न नसकेको बताए ।
पर्यटकीय क्षेत्र खप्तडमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आवत जावत गर्न र बास बस्न सहज बनाउने उद्देश्यले ५ वटा अतिथि गृह निर्माण गरिएका छन् । एक घरमा ४ जनालाई बास बस्न मिल्ने भवन भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएका छन् । साविकको खप्तड गाविस हुँदै आउने पाहुनालाई कुनै पनि कुराको कमि हुन नदिन विभिन्न समिति समेत गठन गरिएका छन् ।
अछामको खप्तडको तुकाबाट खप्तड पाटनमा पुग्न करिव ४ घण्टा समय लाग्ने गर्दछ । वडा नं.१२ र एस नेपालको पहलमा साफेबगर नगरपालिकाको समन्वयमा होमस्टे संचालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्