पाइलट अभावले निगमका विमान उडेनन् • Image Khabar Image Khabar


पाइलट अभावले निगमका विमान उडेनन्


Imagekhabar
५ चैत्र २०७४, सोमबार १९:३६

पाइलट अभावले निगमका विमान उडेनन्

निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चारओटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।

नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन नसस्कदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ ।

पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

‘विमान सन्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौं, स्वदेशी तथा विदेशी पाटलट नियुक्ति गरेर चाँडै विमान सन्चालनमा ल्याउछौं’–उनले भने ।

पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भएपनि सेवा–सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ ।

निगमसँग अहिले चिनियाँ जहाज उडाउनसक्ने पाइलट एकजनामात्रै रहेकामा उनी पनि बिरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।

यसअघि, पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक सातायतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् ।

झन्डै एक महिनाअघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चिनियाँ कम्पनीका दुईओटा विमान भित्र्याएको थियो ।

अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा ८ ओटा जहाज छन् । निगमले काठमाडौंबाट सीधा ६ र विराटनगर तथा नेपालगन्जबाट अरु ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

४१ पाइलट माग, निवेदन अतिन्यून
निगमले पाइलट अभाव पूर्ति गर्न हालै ४१ जना पाइलटको विज्ञापन माग गरेपनि अहिलेसम्म ११ जनालेमात्र निवेदन दिएका छन् ।

आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन पनि समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै सन्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको थियो ।

अहिलेसम्म ११ जनाकोमात्र निवेदन परेको र अझै केही दिनमा बढ्नसक्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए ।

निगमका प्रवक्ता श्रेष्ठले पछिल्ला दिनमा पनि निवेदन परेकाले यो संख्या बढ्नसक्ने जानकारी दिए ।

गत शुक्रबार पर्यटनमन्त्रीको पदबहालीकाक्रममा मन्त्रालयमा भेटिएका महाप्रबन्धक कंसाकारले अहिले निगममा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि करिब ७० जनामात्र पाइलट रहेको जानकारी दिएका थिए ।

असारको दोस्रो साता वाइड बढी भित्रिने
निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउँदैछ ।

हाल विभिन्न मुलुकका ८ गन्तव्यमा एक बोइङ एसीबी–५७५ र दुई एअरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान निगमले भर्दै आएको छ ।

आगामी असारको दोस्रो साता (जुनभित्र) वाइड बढी विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक कंसाकारले बताए ।

निगमले बढीमा दुई वर्षसम्मका लागि एअरबस ३३० का लागि ६ जना पाइलट माग गरेको छ ।

त्यस्तै, एअरबस ३२० का लागि दुई वर्षसम्म चारजना पाइलट, बोइङ ७५७ का लागि ६ महिनादेखि एक वर्षसम्म ६ जना पाइलटको आवेदन माग गरेको छ ।

अन्तर्राष्ट्रिय उडानबाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको हो ।

बढीमा पाँच वर्षसम्म एमए ६० का लागि चारजना, पाँच वर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ ।

त्यस्तै, एअरबस ३३० र बोइङ ७५७ का लागि समान ६ जनाको पाइलटको पनि निगमले आवेदन मागेको छ ।

इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्रसहितको आवेदन इमेल गर्नसक्ने निगमको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्