
यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई शुक्रबार सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ ।
यसअघि, काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ ।
दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको छ ।
समूह ‘एफ’मा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । नेपाल अंकतालिकाको पुछारमा छ ।
नेपाली टोलीमा गोलकिपर बिकेश कुथू, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेन्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनील वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्तीमगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की छन् ।
टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन् ।
नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्