Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


मनोचिकित्सक भन्छन्– ‘बलात्कारको मनसाय नै गम्भीर मानसिक रोग’


0
Shares

विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा. रोशन पोखरेलले बलात्कारको मनस्थिति बन्नु एक जटिल मानसिक रोग भएको जनाए ।

उनले यसलाई रोक्न त्यस्ता विकृत मानसिकता बोकेकाको उचित उपचार र लामो अदालती प्रक्रियाका कारण मुख खोल्न नचाहने पीडित पक्षको मनोबल बढाउन जरुरी भएको बताए । बलात्कारको प्रयास नै पनि गम्भीर मानसिक रोगको परिणाम भएको डा. पोखरेलले औंल्याए ।

उनका अनुसार लुकाउँदा अपराधीको मनोबल बढ्छ भने न्याय एवं उपचार नपाउँदा पीडितलाई आजीवन पुरुष तथा यौनप्रति नै नकारात्मक भावनाले जरो गाड्छ ।

साढे तीन वर्षभित्र उक्त अस्पतालमा शारीरिक एवं मानसिक उपचारका लागि आएका पीडित र बलात्कारीको अध्ययनको आधारमा यो निष्कर्ष निकालेको उनले बताएका हुन् ।

डा. पोखरेलका अनुसार यौनलाई बोल्न नहुने बर्जित विषय बनाएर राख्नु नराम्रो हो, बरु यसको साटो स्वस्थ यौन संस्कार दिनुपर्छ । ‘सेक्स भनेको शारीरिक सम्बन्धमात्र हो भनेर बुझ्नु भएन, शिक्षकलाई पनि यौन शिक्षाबारे जानकारी हुनुपर्‍यो, यसलाई प्रतिबन्धित विषयवस्तुका रुपमा लिनु हुन्न,’ डा. पोखरेलले भने, ‘किशोर उमेरकालाई शारीरिक एवं मानसिक परिवर्तनबारे पूर्वजानकारी दिनुपर्छ ।’ –कान्तिपुर दैनिकबाट