२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


माइभ्याली गोल्डकपमा आयोजक टिमको विजयी सुरुआत


0
Shares

उद्घाटन खेलमा कास्की–११ लाई ३–२ ले पराजित गर्दै इलामले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

इलामलाई जिताउनेक्रममा मनीष थापाले दुई र सुवास राईले एक गोल गरे ।

थापाले खेलको १९औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा इलामका कप्तान सुवास राईले पेनाल्टीमार्फत् गोल गरी टिमलाई २–० को अग्रता दिलाए । ६४औं मिनेटमा पुनः इलामका थापाले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३–० को स्थितिमा पुगेको थियो ।

कास्कीका तर्फबाट खेलको ६९औं मिनेटमा उत्तम गुरुङ र इन्जुरी समयमा रन्दीप पौडेलले एक/एक गोल गरे ।

खेलमा माइभ्याली इलामका छिरिङ गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबारको खेल कामारुजमान प्रगति संघ बंगलादेश र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिए ।

प्रतियोगितामा आयोजकसहित भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको कामारुजमान, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ, संकटा, थ्रीस्टार, मनाङ–मर्स्याङ्दी क्लब, कास्की–११ र झापा–११ को सहभागिता रहेको छ ।

विजेता टिमले नगद ६ लाख ६६ हजार ६६७ तथा उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुने जनाइएको छ ।