
काठमाडौं, असार १२ । आसन्न एसियाली खेलकुदको तयारीका लागि दुईमहिने प्रशिक्षणमा थाइल्यान्ड जान लागेको नेपाली बक्सिङ टोलीको बिदाइ गरिएको छ ।
नेपाल बक्सिङ संघको व्यवस्थापनमा थाइल्यान्ड जान लागेको नेपाली बक्सिङ टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका हुन् ।
दुई महिना थाइल्यान्डको बैंककमा प्रशिक्षण गरी नेपाली टोली त्यहीँबाट सोझै १८औं एसियाली खेलकुदमा भाग लिन इन्डोनेसियाको जकार्ता जाने छ ।
यसक्रममा नेपाली बक्सिङ टिमले बैंककमा हुने थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामासमेत भाग लिनेछ ।
किङ्स कपकोरुपमा प्रसिद्ध प्रतियोगिता आगामी जुन २९ देखि जुलाई ७ सम्म बैंककमा आयोजना हुनेछ ।
प्रतियोगितामा भाग लिन एसियाली खेलकुदको टोलीमा नपरेका थप दुई खेलाडी पनि थाइल्यान्ड जानेछन् ।
बिदाइ कार्यक्रममा सदस्यसचिव विष्टले नेपाली बक्सिङ टोलीबाट एसियन गेम्समा राष्ट्रले सुखद् नतिजाको अपेक्षा राखेको बताए ।
यस्तै, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले थाइल्यान्डमा हुने दुईमहिने प्रशिक्षण र किङ्स कपको अनुभवले नेपाली खेलाडीलाई एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्