२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एन्फा निर्वाचन वैशाख २२ गते नै हुने पक्का


0
Shares

काठमाडौं जिल्ला अदालतमा परेको रिटबारे अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतले भनेसँगै निर्वाचन हुने पक्का भएको हो ।

शनिबारका लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधानसम्मत् नभएको उल्लेख गर्दै रोक्न अन्तरिम आदेशको मागसहित सरोकारवाला समूहले बुधबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले बिहीबार ‘उच्च अदालत पाटनको आदेशले स्थगन भएको निर्वाचनअगाडि थालनी गरेको निर्वाचन प्रक्रियाअनुरुप पुनः मिति तोकी निर्वाचन गराउन निर्वाचन समितिले सक्ने देखिएको र उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित भइसकेकाले अन्तरिम आदेश जारी गर्न परेन’ भन्ने निर्णय गरेको छ ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीसहितले रिट दायर गरेका थिए ।

उनीहरूले राष्ट्रिय खेलकुद परिषद (राखेप), एन्फा, एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

जिल्ला अदालतले राखेपसहित विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ ।

यसअघि, चैत १४ का लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानल एन्फा निर्वाचनमा रहेको छ ।

७७ मताधिकार रहेको एन्फा चुनावी महाधिवेशनले चार वर्षका लागि १७ सदस्यमध्ये अध्यक्षसहित १६ जनाको चयन गर्नेछ । जसमा एक अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्य छन् । एक महिला सदस्य भने यसअघि नै निर्विरोध भइसकेकी छन् ।

यसैबीच, निर्वाचन समिति संयोजक सुमन केसीले निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका छन् ।