पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड • Image Khabar Image Khabar


पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार १८:३०

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

मंगलबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।

पोखरा स्पोर्टस् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुनमगर (आर्चरी) मनोनयनमा परेका छन् ।

अवार्ड समारोहमा यी तीनबाट छानिने एक सर्वोत्कृष्ट खेलाडीलाई एक टीभीएस अपाचे मोटरसाइकल, दोसल्लासहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

यस्तै, सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (कराँते), कमला पुन (हक्की) र केशरी आलेमगर (आर्चरी) मनोनयमा परेका छन् ।

यो अवार्ड जित्ने एकजनाले एक टीभीएस विगो स्कुटर र ट्रफी पाउने मञ्च कास्कीले जनाएको छ ।

वर्षको उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन् ।

यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । यी दुई विधामा अवार्ड प्राप्त गर्नेले जनही नगद १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

साथै, चारै विधामा उत्कृष्ट हुनेलाई वर्लडवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एकथान सामसुङ कम्पनीको मोबाइलसमेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

मञ्चले यो वर्ष सर्वोत्कृष्ट उत्कृष्ट खेल संघ विधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
खेलकुद पत्रकार मञ्च कास्कीले यो वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्रा. डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ ।

प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वप्रमुख हुन् ।

पोखरामा हक्की खेल भित्र्याउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्वअध्यक्षसमेत रहेका गुरुङले क्यानका पूर्वउपाध्यक्ष, कास्की क्रिकेटका पूर्वअध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजकसमेत भएर योगदान गरेका छन् ।

उनलाई पोखरा स्पोर्टस् अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए ।

पर्यटन पत्रकारिता पुरस्कार विधा थप
खेलकुद पत्रकार मञ्च कास्कीले यो वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको विधा पनि थप गरेको छ ।

कास्कीमा रहि कम्तीमा पाँच वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एकजना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोसल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्देश्यले यो विधा थपेको मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए ।

अवार्ड समारोहमा खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक बिनोद बानियाँलाईसमेत सम्मान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्