
काठमाडौं, कात्तिक २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि आफ्नो गति बढाउनुपर्ने सुझाव दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले मुलुकमा विकास र समृद्धि विल्कुलै सम्भव रहेको भन्दै त्यसतर्फको यात्रामा गति बढाउन जरुरी रहेको बताए ।
‘देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्ति, संघर्ष र हड्तालहरुको युगलाई पार गरेर यहाँसम्म आएका छौं,’ उनले भने, ‘नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन ग¥यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।’
समृद्धिका पाईलाहरु भर्खर चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।’
सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहना सिंगो राष्ट्रले गरिरहेको उल्लेख गर्दै उनले भने, ‘हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । बेरोजगारी, परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका रोग, व्याधहरु छन् । तीबाट यो समाज मुक्त हुन चाहन्छ । चाँडो विकास होस् । नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ । जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै बेगका साथ काम गर्नुपर्छ । अहिलेको गतिले पुग्दैन ।’
प्रतिक्रिया दिनुहोस्