११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


नेपालको समृद्धिको सुरुआत भइसक्यो : नेता नेपाल


0
Shares

भक्तपुुर, कात्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘सुखी नेपाली, समृद्धि नेपाल’को अभियान सफल हुने बताएका छन् ।

सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको सुरुआत भइसकेको बताएका हुन् ।

नेता नेपालले शंकरापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौं उपत्यकाका सबै सडक आगामी दुई वर्षभित्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए ।

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माणकार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहोरिने उनको भनाइ थियो ।

देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुईतिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताए ।

त्यस अवसरमा ३ नम्बर प्रदेश सांसद शशीजंग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताए । रासस