२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सशस्त्रले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि, सागर पुन सर्वोत्कृष्ट खेलाडी


0
Shares

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै सशस्त्र च्याम्पियन बनेको हो ।

२१० रनको सामान्य चुनौती सशस्त्रले ४ विकेटको क्षतिमा ४१ ओभर २ बलमै पूरा गरेको हो ।

अनिलकुमार शाह र प्रदीपसिंह ऐरीको जोडीले उत्कृष्ट साझेदारी ग¥यो । पहिलो विकेटका लागि ११९ रनको साझेदारी गर्नेक्रममा प्रदीप र अनिलले समान ६३/६३ रन जोडे ।

प्रदीप यो प्रतियोगिताका सर्वाधिक रनकर्ता पनि हुन् । उनले ६ खेलमा ३१३ रन बनाए ।

यसअघि, खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो ।

भीम सार्कीले सर्वाधिक ४५ रन बनाएको इनिङ्समा सोमपाल कामीले ३६ तथा कप्तान विनोद भण्डारीले ३५ रन जोडे । करण केसीले ३ तथा बसन्त रेग्मी र भुवन कार्कीले समान २/२ विकेट लिए ।

समूह चरणमा आर्मीसँग पराजय भोगेको सशस्त्रले बदलासमेत लिएको छ । अनिल ‘प्लेयर अफ दी फाइनल’ घोषित भए ।

विजेता सशस्त्रले ट्रफीसहित २० लाख तथा उपविजेता आर्मीले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका सागर पुन घोषित भए । उनले एक लाख रुपैयाँ पुरस्कार पाए ।

त्यसैगरी, उत्कृष्ट बलर सुशन भारी घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान प्रदीपसिंह ऐरी भए । दुवैले समान ५०/५० हजार रुपैयाँ पुरस्कार पाए ।